चैत्र २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द : दुर्गा प्रसाईं

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उहाँले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन् ।

उनले आन्दोलनका क्रममा हरेक शनिवार दिनको १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्वासीहरू, सर्वहारा वर्गहरू, फुटपाथमा व्यापार गर्नेहरू जम्मा गरी माइतीघर मण्डलाबाट जुलुस ल्याइ बानेश्वर चोकमा कोणसभा गर्ने, चैत्र १ देखि १९ गतेसम्म हेटौँडा, पोखरा, जनकपुर र वीरगञ्ज, दार्चुला, बैतडी, महेन्द्रनगर इटहरी, विराटनगर, धरान, दमकसम्म सामन्तीविरुद्धको आमसभा र कोणसभा गर्ने, २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने, व्यापारीहरूले पसल बन्द गर्ने, राँके जुलुस गर्ने, कर तिर्ने, मालपोतमा जग्गा पास नगर्ने, केही मान्छेहरू आफ्नै खर्चमा काठमाडौँ आइ यो अभियानलाई सफल बनाउने, चैत्र १ गतेदेखि राष्ट्रव्यापी रूपमा महाअभियानको गठन गर्ने लगायतका विरोध कार्यक्रम गर्ने जानकारी दिए ।

त्यस्तै उनले पत्रकार सम्मेलनमा राष्ट्रलाई संघीयता बनाइएको सेतो हात्तीको खारेज गरी सबै धर्मलाई सम्मान गर्दै वैदिक सत्य सनातन राष्ट्र कायम गर्नुपर्ने माग गरे । उनले गणतन्त्रको बाटो हिँड्दा अभाव सिद्ध भएका कारण २०४७ सालको संविधान लागू गर्नुपर्ने, संविधानलाई संशोधन गरी सबै पक्षलाई मान्य हुनेगरी अघि बढ्ने, बैंक,वित्तीय सहकारी बीमा कम्पनीहरूलाई तुरुन्त राष्ट्रियकरण गरी निक्षेपकर्ताको निक्षेपकलाई ध्यानमा राख्दै निक्षेपकर्ताको ब्याज ६ प्रतिशत भन्दा माथि नहुने गरी लघुवित्त र सहकारीका ऋणीहरूको २० लाख भन्दा मुनिको ऋण मिनाहा गरी विखण्डन भएको परिवार र घरबाट निकाली सुकुम्वासी बनाइ सडकमा पुर्‍याएका परिवारलाई एकै ठाउँमा बस्ने वातावरण मिलाउनुपर्ने, २० लाख भन्दा माथिको ऋणमा ४ देखि ५ प्रतिशत ब्याजमा दिनुपर्ने र उद्योग धन्दा कलकारखाना खोली नेपालबाट वैदेशिक रोजगारमा गएका नेपाली युवाहरूलाई नेपालमा नै स्वरोजगारको लागि ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरू राखेका छन् ।

व्यवसायी प्रसाईंले आफ्नो अभियानका अभियन्ताहरूलाई सरकारले पक्राउ गरेकोमा आपत्ति जनाउँदै तत्काल छोड्नुपर्ने माग गरे । उनले बेरोजगार युवालाई बिना धितो ऋण उपलब्ध गराइ रोजगारी सिर्जना गर्नुपर्ने, नेपालमा जन्मिएर विश्वभर छरिएर रहेका नेपालीहरूले दोहोरो नागरिकता राख्न पाउनुपर्ने माग राखेका छन् ।

नेपाल ५२ रनले विजयी
काठमाडौँ, २५ फागुन (रासस) :
आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्कोर दुई सय ९७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीले ४७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४५ रनमा सीमित बन्यो ।

जितसँगै नेपालले ३३ खेलमा ३४ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको पाँचौ स्थानमा छ । समान ३३ खेल खेलको पपुवा न्यूगिनी ९ अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

नेपालका लागि ओपन आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरे । खेलमा आशिफ शेखले सर्वाधिक ११० रन बनाए । कुल ११० बल खेलेका उनले दुई छक्का र १२ चौका प्रहार गरे ।

आशिफको यो पहिलो एक दिवसीय शतक हो । उनी एक दिवसीयमा खेलमा शतक प्रहार गर्ने नेपालका लागि पाँचौ खेलाडी बने । यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् ।

शतकसँगै आशिफले एक दिवसीय खेलमा एक हजार रनसमेत पूरा गरेका छन् । एक हजार रन पूरा गर्ने उनी नेपालका उनी दोस्रो खेलाडी बने । यसअअघि नेपालका रोहित पौडेलले एक दिवसीयमा एक हजार रन पूरा गरेका थिए ।

साथै नेपालका लागि ब्याटर कुशल भुर्तेलले ४५ रन, भिम सार्कीले ४४ रन, रोहित पौडेलले ३० रन बनाए । साथै आरिफ शेखले १५ रन, ज्ञानेन्द्र मल्लले ११ रन र दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछोनले सात र सोमपाल कामीले चार र कुशल मल्लले दुई रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका सेमो कमिया पाँच विकेट लिए भने राइली हेकुरेले तीन विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीको सुरुवात राम्रो रह्यो । पहिलो विकेट ११ दशमलव दुई ओभरमा ७७ रनमा झरेको थियो । पपुवा न्यूगिनीका लागि नोर्मान भानुवाले सर्वाधिक ६० रन बनाए भने ओपनर टोनी उराले ५० रन बनाए । साथै असाद भालाले ४२, रिले हेकुरेले २० रनको योगदान गरे । नेपालको जितमा सन्दीप लामिछानेले चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई र कुशल मल्लले एक विकेट लिए ।

विभिन्न सात राष्ट्र सहभागी यस सिरिजमा नेपालले अब तीन खेल खेल्न बाँकी छ । पपुवा न्यूगिनीसँगको एक र युएईसँगको दुई खेलमा विजयी भए नेपालले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पाउनेछ ।

लिगका सबै खेल खेलिसकेको स्कटल्यान्ड ५० अङ्काका साथ शीर्ष स्थानमा छ भने ओमान ४४ अंकसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमानले जिम्बाब्बेमा आयोजना हुने विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ । बाँकी एक स्थानका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् । यी तीन टोलीमध्ये एक टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् ।

नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अङ्कसहित चौथो स्थानमा छ । कुल ३२ खेल खेलेको युएइ ३१ अङ्कका साथ छैटौ स्थानमा छ । नेपालले जारी शृङखलाको आफनो दोस्रो खेल यही फागुन २८ गते युएईसँग खेल्नेछ ।