वनभोज खान गएका २२ वर्षीय देवको जंगली हात्तीको आक्रमणमा परी मृत्यु

सिराहा -सिराहामा वनभोज गएका एक युवकको जंगली हात्तीको आक्रमणबाट मृत्यु भउको छ । मृत्यु हुनेमा जमदह पुराण्डीका रवि मुसहरका छोरा करिब २२ वर्षीय देवप्रसाद सदा रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

खानेकुरा पकाएर खाने क्रममा मंगलबार अपरान्ह्र करिब ४ बजेतिर उत्तरतिरबाट आएको दुईवटा हात्तीको समूहले आक्रमण गरेपछि सदाको घटनास्थमै मृत्यु भएको थियो ।

हात्ती देखेपछि अन्य जना भाग्न भ्याएपनि सदा भाग्न नभ्याउँदा आक्रमणमा परी मृत्यु भएको हो । घटनास्थलबाट भागेका युवाहरुले घटनाको जानकारी दिएलगत्तै स्थानीय बासिन्दा र प्रहरी मिलेर हात्तीलाई जंगलतिर लखेटेको प्रहरीले जनाएको छ ।

१२ जना प्रहरीको संयुक्त टोलीले एम्बुलेन्समा राती करिब साढे १० बजेतिर शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पअताल लगेका थिए । युवकको मृत्यु भएलगत्तै राती पुनः हात्तीको आक्रमणमा स्थानीय मुनिलाल घिसिङको घरमा क्षति पुगेको बताइएको छ ।