‘महाविश्वविद्यालय’मा कोर्ष गरेर आएको छु : पल शाह

ना’बालिग ज’बर्जस्ती कर’णीको अभियोगमा १ वर्ष कन्दी जीवन विताएर सोमबार थुनामुक्त भएका अभिनेता तथा मोडल पल शाहले जेललाई ‘महाविश्वविद्यालय’को संज्ञा दिएका छन् ।

उच्च अदालत पोखराले पलविरुद्धको अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएपछि मंगलबार काठमाडौंस्थित घर प्रवेश गर्ने क्रममा उनले महाविश्वविद्यालयमा आफूले कोर्ष गरेर फर्किएको बताएका हुन् ।

पलले सञ्चारकर्मीसँग भनेका थिए, ‘म ‘महाविश्वविद्यालय’मा थिएँ । त्यहाँ कोर्ष गरेर आएको छु । त्यहाँ के-के पढेर आएँ पछि भन्नेछु । तर, त्यहाँ बसाई राम्रो भयो । विश्वविद्यालयमा गएपछि राम्रो ज्ञान सिकिन्छ नै । दमौली कारागारका आन्तरिक र बाह्य प्रशासनका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ।’ शाहले कारागारको चौकीदारदेखि आफ्नो रिहाइको प्रार्थना गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

२०७८ सालको फागुन १५ गते तनहुँ प्रहरी कार्यालयमा उपस्थित भएपछि उनको जेल जीवन सुरु भएको थियो । त्यसको ठीक एक वर्ष अर्थात् यही फागुन १५ गते उनी सम्पूर्ण मुद्धाबाट सफाइ पाएर रिहा भए ।

पल अब केही हप्ताभित्र काममा फर्किने तयारीमा रहेको बुझिएको छ । उनी काठमाडौं फर्किनसाथ म्यूजिक भिडियो तथा फिल्मको अफर गर्न हानाथाप सुरु भएको स्रोत बताउँछ ।

पल सुरुमा म्यूजिक भिडियोबाटै काम सुरु गर्ने योजनामा छन् । फिल्ममा भने उनले आगामी वर्ष मात्र काम गर्न सक्नेछन् । कानुनी झमेलामा फस्नुअघि उनले यशकुमारको एउटा अनटाइटल फिल्म, ‘सत्यम्’ र ‘ओ सजन’ फिल्म सम्झौता गरेका थिए । यी तीनवटै फिल्मका मेकर पलकै पखाई बसेका थिए । अब उनले यिनै फिल्म पहिला गर्नेछन् वा नयाँ, त्यो भने प्रतिक्षाको विषय बनेको छ ।