न्यायलयमा राजनीति हाबी हुँदै : आज रिहा हुँदै अरुण चौधरी, रेशम चौधरी के गर्छन ?

काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज रिहा हुने भएका छन् । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचीमा कैलाली कारागारमा रहेका चौधरीलगायत चारजनाको नाम समावेश रहेको कारागार स्रोतले जानकारी दिएको छ ।

१० बजेपछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गर्ने तयारी कारागार प्रशासनले गरेको छ । जिल्ला कारागारमा रहेका सातजनालाई सजाय माफीका लागि आग्रह गरिएको भएपनि चारजनाको मात्रै माफी मिनाहा भएको छ ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

चौधरीले सुनुवाइको मौकासमेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुवै रिटमा अन्तरिम आदेश अभएपछि सरकारले राष्ट्रपतिबाट माफी दिने तयारी गरेको हो ।