दुर्गा प्रसाईंलाई कारबाही गर्ने एमालेको तयारी

विराटनगर – नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीले कारबाही गर्ने तयारी गरेको छ । केही समयदेखि एमाले विरोधी गतिविधि गर्दै आएका प्रसाईलाई पार्टीबाट निष्कासन गर्नुपर्ने आवाज सामाजिक सञ्जालमा चर्को रुपमा उठ्दै आएको छ ।

एमालेको नीति सिद्धान्त विपरीत केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनी झन विवादमा परेका हुन् ।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन्। उनले गत सोमबार काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ सुरु गरेका हुन्।

उनी पछिल्लो समय पार्टीको नीति र सिद्धान्त विपरीत राजतन्त्र र हिन्दु राष्ट्रको वकालतमा प्रस्तुत हुन थालेका छन् । नेकपा एमाले प्रदेश १ कमिटीको बैठक शुक्रबार बस्दैछ । त्यस बैठकमा प्रसाईंका विषयमा कुरा उठाउने तयारी गरिएको छ ।

एमाले प्रदेश १ का इन्चार्ज एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले प्रसाईंका विषयमा प्रदेश कमिटीमा छलफल हुने र कारबाहीका लागि केन्द्रमा सिफारिस गर्न सकिने बताए ।