हरिवंश आचार्यको यस्तो सुझाव- ‘‘विदेशमा दुःख गरेर कमाएको पैसा एक टुक्रा जग्गामा खेर नफाल्नुहोस्’’

हरिवंश आचार्य, वरिष्ठ कलाकार-म काठमाडौंको टंगाल गैरीधारामा जन्मिएको हुँ । त्यहाँ हाम्रो आफ्नै घर थियो । त्यही घरमा बाल्यकाल बित्यो । पछि, आमा बुवा वित्नुभयो । त्यो घरमा दाजुभाइको अंशबण्डा लाग्थ्यो ।

घर पनि पुरानो भइसकेको थियो । हामीले घर बिक्री गर्ने योजना बनायौं ।त्यो घर बिक्री गरेपछि केही पैसा आएको थियो । तर, चिनजानकै आफ्नै मान्छेले तिमीलाई नक्सालमा जग्गा दिन्छु भनेर पैसा लगेर खाइदियो । जग्गा दिएन । त्यो मान्छेसँग मेरो ११-१२ बर्षसम्म मुद्दा चल्यो ।

मैले मुद्दा जितेपछि पैसा फिर्ता पाएँ । तर, त्यो बेला मेरो पैसाको भ्यालू निकै कम भइसकेको थियो ।जग्गाको मूल्य बढेको बढ्यौ थियो, तर पैसा जत्तिको त्यति । मैले फिर्ता पाएको पैसाले अब घरजग्गा आउने अवस्था रहेन । त्यो पैसा पनि मुद्दा मामिलामा उत्रिएर बल्लबल्ल पाइएको थियो ।

म आफ्नै घरमा जन्मिएको, आफ्नै घरम हुर्किएको मान्छे, एकाएक घरबार बिहीन हुनुपर्यो ।घर नहुँदा पिडा हुने रैछ । मलाई निकै पिडाबोध भयो । त्यसबेला मेरो जीवनको उद्देश्य के थियो भने, २ कोठाको टिनले बारेको भएपनि आफ्नै घर बनाउन पाए हुन्थ्यो ।

अब मेरा संघर्षका दिनहरु सुरु भए । जीवनमा धेरै मिहिनेत पनि गरियो । मैले २ कोठाको टिनले बारेकै भएपनि आफ्नै घर बनाउन पाए हुन्थ्यो भन्दा भन्दै घट्टेकुलोमा ४ कोठाको ढलान गरेको घर बनाएँ ।यो ०३८-३९ सालतिर मैले घर ठड्याएँ । २ वटा कोठामा प्लास्टर गरेका थियौं ।

२ कोठामा प्लास्टर गर्न पैसा थिएन । २ कोठाको झ्यालमा ग्रिल हालेका थियौं । २ कोठामा हाल्न सकेका थिएनौं । घर भनेको मान्छेको संसार रहेछ । म न्यूयोर्क जाउँ वा बेइजिङ जाउँ, मेरो लागि मेरो घरको बेडरुम सबैभन्दा प्यारो संसार हो ।मेरो बेडरुममा पाउने आनन्द कहीँ पाउँदिन ।

आफ्नो बेडरुममा पल्टिँदा मिठो निद्रा आउँछ । थकित शरिरमा स्फुर्ती भरिन्छ ।सबैको उद्देश्य आफ्नै घर बनाउने भन्ने हुन्छ । परिवारलाई आफ्नै घरभित्र राख्न पाइयो भने जीवनमा त्यो भन्दा बढी सुखानुभूति अरु केही हुँदैन । अरु भनेको जीवनमा आइलाग्ने नाफा हुन् । मैले

जति पनि प्रगति गरेँ, त्यो सबै मेरो जीवनमा आएको नाफा हो । तर, घर मेरो लागि अमूल्य सुख र प्राप्ती हो । सम्पूर्ण प्राणीलाई घर चाहिन्छ । चराले पनि आफ्ना लागि घर बनाएको हुन्छ । आफ्नो घर बनाउन चरोले कति मेहेनत गर्छ । पानीमा पनि माछाले आफू बस्नका लागि घर बनाएको हुन्छ ।

कसैका लागि पनि सुखले, मिहिनेतले घर सपना पुरा हुन्छ । घरसँग मान्छेको भावना जोडिएको हुन्छ, खुशी जोडिएको हुन्छ ।अहिले म बुढानिलकण्ठमा बस्दै आएको छु । म बिचमा हाउजिङका घरमा पनि बसेँ । पहिला बुढानिलकण्ठकै कम्फर्ट हाउजिङको घरमा बसेँ । त्यहाँ बस्दा मेरी श्रीमती बितिन् ।

उनको धेरै याद आएपछि बसाइ सारेँ ।त्यसपछि म भक्तपुर बालकोटको रोजभिलेज बस्न थालेँ । अहिले बुढानिलकण्ठको हाउजिङ कम्युनिटीको घर हैन, एकल घर हो । बुढानिलकण्ठको घर फराकिलो क्षेत्रफलमा बनेको छ ।कम्पाउन्डभित्रै सुटिङ गर्ने ठाउँ पनि बनाएको छु । धेरैजसो सुटिङ त्यहीँ हुन्छ । एउटै कम्पाउन्डभित्र आवास र सुटिङ स्थल छ ।

यसरी बनाएँ लालपुर्जा टेलिसिरियल-त्यतिबेला कतिपय ठाउँमा मोहिहरु पिडित थिए, अझै पनि होलान् । जग्गा धनीहरुले मोहीको शोषण गर्थे । कतिपय ठाउँमा मोहिले पनि घरजग्गाधनीलाई शोषण गरेका धेरै उदाहरण छन् । मोहीले धेरै व्यक्तिको जग्गा कमाइरहेका हुन्छन् ।

उनीहरुसँग धेरैको जग्गा हुन्छ । तर, जग्गाधनीको एउटै ठाउँमा मात्र हुन्छ । त्यही कसैलाई कमाउन दिएको हुन्छ ।तर, त्यो जग्गामा मोहीले कब्जा जमाउँदा जग्गाधनी पिडित बन्ने गरेका छन् ।उसले त्यहाँ न घर बनाउन पाउँछ, न भोग गर्न पाउँछ ।विरानो ठाउँमा गएर घर बनाउँदा लेखेटेर पठाएका उदाहरणहरु पनि प्रशस्त हुन्थे ।

धेरै ठाउँमा जग्गाधनी मोहिबाट पिडित थिए । कतिपय ठाउँमा मोहीहरु जग्गाधनीबाट पिडित थिए । मलाई लाग्छ, शहरमा जग्गाधनी बढी पिडित थिए, गाउँघरमा मोहिहरु । त्यो दुबै स्वार्थको अन्त्य हुनुपर्छ भन्ने ध्येय राखेर लालपुर्जा टेलिसिरियल बनाएका हौं ।त्यो सिरियलले एक हदसम्म यो समस्या समाधानका लागि जागरण ल्याएको थियो ।

मेरो काभ्रेको शंखु गाउँमा पुर्खाको जग्गा जमिन थियो । त्यहाँ पनि मोहीहरु धेरै थिए । त्यो बेला ४ भागको १ भाग जग्गाजमिन मोहीलाई र ३ भाग जग्गाधनीलाई हुन्थ्यो ।मैले ३ भागको १ भाग मोहिलाई र २ भाग आफैलाई राखेर मोही छुटाएको थिएँ । त्यो बेला सरकारले पनि लालपुर्जा फिल्मको तारिफ गरेको थियो ।

समाजमा जागरण ल्याएको भनेर चर्चा भएको थियो । अहिले मैले शंखुमा २ रोपनी जग्गा चाइल्डरिच नेपाल भन्ने संस्थालाई दिएको छु । त्यहाँ मिरा सेन्टर भनेर शिशू स्याहार केन्द्र सञ्चालनमा छ ।मेरो श्रीमतिको पनि प्रतिमा राखेका छन् ।

घर बनाउनेलाई टिप्स-अहिले सानोतिनो कमाइले शहरमा घर बनाउने सपना पुरा गर्न सम्भव छैन । शहरमा घरजग्गा जोडजाम गर्नका लागि धेरै मिहिनेत गर्नुपर्छ । आफ्नै व्यापार व्यवसाय गर्ने र राम्रै आम्दानी गर्नेले घरजग्गा जोड्न सक्छ ।

पछिल्लो समय विदेशमा गएर कमाउनेले शहरमा घरजग्गा किन्ने गरेको देखिन्छ । सक्नेले ठूलै घर आँट्छन, अलि कम कमाइ गर्नेले जग्गासम्म किनेर फालौं न, सक्दाको दिन घर बनाउँला भन्ने मनस्थिती बनाएर जग्गा किन्छन् । अहिले बिदेशमा दुःख गरेर कमाएको धेरै पैसा सानो टुक्रा जग्गा वा घर किन्नमा मात्र खर्च भइरहेको छ ।

आफ्नै घर बनाउनुपर्छ, त्यसमा दुईमत रहेन । तर, विदेशबाट कमाएर ल्याएको पैसाले टुक्रा जग्गामात्र आउँछ, घर बनाउन सकिँदैन भने त्यहाँ किन लगानी गर्ने ? यदि तपाईंले कमाएको पैसाले कुनै व्यापार व्यवसाय गर्नुहोस्, त्यहाँबाट कमाएको पैसाले बल्ल घरजग्गा किन्नुहोस् ।

आफ्नै व्यापार व्यवसाय भयो भने नियमित आम्दानी पनि हुन्छ ।फेरी विदेशी कमाउन दौडिहाल्नु पनि पर्दैन । मेरो सुझाव छ, ‘दुख गरेर कमाएको पैसालाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नुहोस् र पैसा कमाएपछि मात्र विलासितामा खर्च गर्नुहोस् ।’ सुरुमै घर, मोटरसाइकल, गाडी, टिभी, फ्रिजमा पैसा खर्च गर्ने होइन ।

अहिले त विदेशबाट ल्याएको पैसा जग्गाजमिन र घरमा खन्याउने, कतिपयले गाडी वा मोटरसाइकल किनेर सिध्याउने गरेको पनि देखिन्छ । अनि आफुसँग भएको पैसा सकिएपछि फेरी कमाउन विदेशतिरै जाने गरेको पनि देखिन्छ । जुन एकदमै गलत हो ।

सुरुमा आयआर्जन हुने क्षेत्रमा पैसा लगानी गर्नुपर्छ । अनि, पैसा कमाएर मात्र घर बनाउने, बाइक वा गाडी किन्ने, घरमा विलासिताका सामान जोड्दा उत्तम हुन्छ।