सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय हतारमा भयो, फिर्ता हुनुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको आरोप खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन फुकवा गरेकोमा आपत्ति जनाएका छन्।

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा क्यानले लामिछानेलाई निलम्बन फुकुवा गरेको भन्दै थापाले आपत्ति जनाएका हुन्। थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन्।

‘अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाका बारे धेरैले सामाजिक सञ्जालमार्फत प्रश्न गर्नुभएको छ। मेरो धारणा स्पष्ट छ – बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न,’ थापाले लेखेका छन्।

आफूले क्यानका अध्यक्ष चतुबहादुर चन्दलाई भेटेरै फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको तर नमानेको महामन्त्री थापाले खुलासा गरेका छन्।

‘एक साताअघि नै यो प्रसङ्ग आउनासाथ क्यानका अध्यक्ष (जो कांग्रे्रेसका जिल्ला सभापतिसमेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ। उहाँले यस खालको निर्णय नगर्ने बताउनुभएको थियो। तर त्यसो हुन सकेन। पुनः दोहोर्‍याउन चाहन्छु – बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ। नट इफ, नट बट!’, उनले लेखेका छन्।

क्यानले निलम्बन फुकुवा गरेपछि लामिछाने शुक्रबारबाट प्रशिक्षणमा सहभागी भएका छन्।