डा.सन्दुक रूइतलाई राष्ट्रपति बनाउन हरिवंश आचार्यको प्रस्ताव

काठमाडौं, ४ माघ/चर्चित कलाकार हरिवंश आचार्यले वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । नेपालमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन गइरहेका बेला कलाकार आचार्यले रुइतलाई सर्वसम्मत रूपमा राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले डा.रुइतलाई राष्ट्रपति बनाउन सके नेपालको प्रतिष्ठा नै बढ्ने बताएका छन् । रुइतले नेपालीको मात्र होइन, संसारकै ज्योतिविहीनहरूको आँखाको उज्यालो छरेकाले उनलाई राष्ट्रपति बनाउनुपर्ने जिकिर गरेका हुन् ।

‘मनमा कुरा घुमिरहन्छ। यो देशको अबको रास्ट्रपति नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई बनाउन पाए नेपालको नै प्रतिष्ठा बढ्ला । जसले नेपालीको मात्र नभई संसारकै ज्योतिविहीनहरुको आँखामा उज्यालो छर्न सक्नुभयो र नेत्रज्योतिको क्षेत्रमा आफ्नो अनुसन्धान संसारकै लागि उपयोग सिद्ध सावित गर्नुभयो । त्यसको मूल्यांकन गरी उहाँलाई संसारले नै सम्मान गरिरहेको छ । यसैअन्तर्गत उहाँलाई बहराइन सरकारले दश लाख डलरको (इसा अवार्ड) बाट सम्मान गर्ने निर्णय गरेको समाचार सुन्दा मन हर्षित भएको छ,’ आचार्यले लेखेका छन् ।

सभामुखको मनोनयन आज, यस्तो छ निर्वाचन तालिका
काठमाडौँ, ४ माघ (रासस):
प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताअनुसारको सूची आजै अपराह्न ४.१५ बजे प्रकाशित गरिने छ ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुने तय भएको छ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले यही माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्ने निर्देशन दिएको थियो ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ ।