ब,लात्कार अभियोगबाट पल शाह मुक्त…. ??

काठमाडौं । अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले ज,बरजस्ती करणीको मुद्दामा सफाइ दियो । अर्थात् उनीमाथि एक नाबालिगले लगाएको आरोप अदालतले गलत ठहर्‍याउँदै पललाई निर्दोष करार गरेको छ ।

पल अहिले उही प्रकृतिको मुद्दामा नवलपुर जिल्ला अदालतले सुनाएको फैसलाअनुसार जेल सजाय भुक्तान गरिरहेका छन् । उनलाई तनहुँ कारागारमा राखिएको छ र नवलपुर अदालतको बाँकी जेल सजाय उनी यही बसेर भुक्तान गर्नेछन् ।

नवलपुरको सजाय पूरा गर्नै पर्ने भएकाले कतिपयले तनहुँ अदालतको फैसलालाई अर्थहीन पनि मानेका छन् । तर, यो फैसलाले पलका निम्ति निकै महत्त्व र अर्थ राख्छ ।

पललाई सबैभन्दा ठूलो राहतको विषय भनेको उनी ‘बलात्कारी’ ठहरिएनन् । यसअघि नवलपुर उच्च अदालतले उनलाई बलात्कारमा सफाइ दिएको थियो भने बाल यौन दुरुपयोगमा अढाई वर्षको जेल सजाय तोकेको थियो । तनहुँ अदालतले भने उनलाई पूर्णरुपमा सफाइ दियो

यी दुवै फैसलाका आधारमा पलमाथि लागेको ‘ब,लात्कार’ वा ज,बरजस्ती करणीको आरोप पखालिएको छ । पलको व्यक्तिगत जीवन र करिअरका निम्ति यो फैसला एक प्रकारले वरदान नै हो ।

जहाँसम्म नवलपुर जिल्ला अदालतले गरेको फैसला छ, त्यसमाथि पलले उच्च अदालत पोखरामा पुनरावेदन गरिसकेका छन् । उक्त पुनरावेदनको पेशी भने तोकिएको छैन ।

सरकारी पक्षले उक्त फैसलामाथि पुनरावेदन गर्न सक्ने म्याद बाँकी रहेकाले पेशी नतोकिएको हो । पुनरावेदनका लागि फैसला भएको सूचना पाएको मितिले बढीमा एक सय दिनको म्याद हुन्छ ।

सरकार वादी भएको मुद्दामा अदालतले सफाइ दिएको खण्डमा सरकारी पक्षले माथिल्लो अदालतमा पुनरावेदन गर्नै पर्ने वाध्यात्मक कानून छ । त्यसैले सरकारी वकिलको कार्यालयले नवलपुर र तनहुँ दुवै अदालतको फैसलामाथि उच्च अदालतमा पुनरावेदन गर्नेछन् । नवलपुर अदालतले गत २१ भदौमा फैसला सुनाएको थियो । त्यसको पुनरावेदन गर्ने म्याद अब केही दिन मात्रै बाँकी छ ।

तनहुँको फैसलाबाट पल शाह पक्ष खुसीयालीमा छन् । यो फैसलाले पोखरा उच्च अदालतमा दायर भएको पुनरावेदनलाई पनि प्रभाव पार्ने र अन्ततः नवलपुरको फैसला उल्टिएर पल शाह रिहा हुने उनीहरूको आशा छ ।

पलको पक्षबाट मुद्दा लडिरहेका कानून व्यवसायी कमलामोहन वाग्ले तनहुँको फैसला आफूहरूका निम्ति निकै महत्त्वपूर्ण रहेको बताउँछन् । यही फैसलालाई आधार बनाएर उच्च अदालतले पललाई सफाइ दिन सक्ने उनले दाबी गरे ।