विमान दुर्घटनामा पर्नबाट भाग्यले जोगिए गायक पशुपति शर्मा

आईतवार विहान पोखरामा भएको विमान दुर्घटनामा दोहोरी गायिका निरा छन्त्यालसमेत परिन। उनको अवस्थाका वारेमा पूर्ण जानकारी नआएपनि पारिवारिक स्रोतले उनी सोही जहाज चढेर पोखरा गएको पुष्टि गरेको छ।

यता, चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस सो दुर्घटनामा पर्नबाट जोगिएका छन् । उनले आज यही विमानबाट पोखरा जाने टिकट रद्द गराएका थिए । साथै पोखराबाट फर्खिन आज विमानको प्रतीक्षामा थिए । अचानक दुर्घटनाको खबर पाएपछि उनी स्तब्ध छन् । कर्म र ग्रहले आफू दुर्घटनाबाट बचेको उनको भनाइ छ ।

‘खासमा आज मेरो यही विमानमा पोखरा आउने कुरा थियो । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा आजको फ्लाइट क्यान्सिल गरेर म दुई दिनअघि नै बुद्ध एयरबाट पोखरा आएको थिएँ । आज म पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कन आँटेको हो’ उनले भने–‘फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घटनाको खबर आउँदा पनि म यहीं नै थिएँ ।’

विमान अवतरण होला भनेर पर्खेर वसेको तर पछि दुर्घटनाको समाचार देखेपछि साह्रै नमज्जा लागेको उनले वताए । ‘रुन मन लाग्यो । मेरा कतिपय साथीहरु जानुभयो हेर्न । मलाई पनि जाउँ भन्दै हुनुहुन्थ्यो । तर, त्यहाँ गएर हामीले न उद्दार गर्न सक्छौं त न अरु केही । बेकारमा होहल्ला र उद्दारमा अवरोध हुन्छ भनेर म चाहिँ गइनँ ।’– उनले भने।

‘दुर्घटना भएको विमानका यात्रुका परिवारहरु यहाँ पर्खाइमा हुनुहुन्थ्यो होला । दुर्घटनाको खबर सार्वजनिक हुनेबित्तिकै यहाँका अधिकतम मानिसहरु दुर्घटनास्थल क्षेत्रतर्फ लाग्नुभयो’ उनले थपे–‘त्यसैले दुर्घटनापश्चात उहाँहरुको स्थिति कस्तो छ । के छ भन्ने कुराको ख्याल भने मैले गर्न पाइनँ ।’

६८ जना यात्रु र चालक दलका चारजनासहित आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खस्यो । दुर्घटनाग्रस्त विमानबाट हालसम्म ४१ जना निकालिएको र तीमध्ये बढीमा २ जनामात्र जीवित रहेको प्रारम्भिक अनुमान छ ।