भुवन केसी भन्छन्: युट्युबरका कारण चलचित्र निर्माता मर्कामा परे

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले युट्युबरका कारण चलचित्र निर्माता मर्कामा परेकाे अभिव्यक्ति दिएका छन् । सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्मातालाई असर पुगेकाे उनकाे भनाइ छ ।

राजधानीमा हालै आयोजित चलचित्र निर्माताहरूको वृहत भेला तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले चलचित्र शुटिङका क्रममै भिडिओ खिचेर सार्वजनिक गर्ने प्रवृत्ति कम हुनुपर्नेमा जाेड दिए । यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र चलचित्रमा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको समेत उनले जानकारी दिए ।

“निर्माताले घरखेत बेचेर शुटिङ गराइरहेको हुन्छ,” उले भने, “युट्युब पत्रकारले शुटिङ हुँदा हुँदै एउटा यसो क्यामेरा ल्याएर खिचेर भिडिओ युट्युबमा हाल्दिहाल्छ । त्यसपछि शुटिङको दृश्य आउट ।”

साथै अध्यक्ष केसीले पछिल्लो समय पाइरेसीका घटना बढ्दा पनि चलचित्रमा असर पुगेकाे भनाइ राखे ।

“हलभित्र यसो सिनेमा हेरेर फिल्मका क्लाइमेक्स वा सिन युट्युबमा हाल्दिहाल्छन् । यसले पनि निर्मातालाई ठूलो मर्का परेको छ,” उनी भन्छन् ।

उनले कुनै पनि व्यक्तिले अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभई जरिवाना र फिल्ममा परेको क्षतिपूर्ति तिराउन सरकारसँग माग गरिएको बताए । त्यस्तै पछिल्लो समय ड्रोनका नीतिले पनि चलचित्र निर्माण गर्न असहज भएको उनले गुनासाे गरे ।

“शुटिङमा अहिले ड्रोन नभई हुँदै हुँदैन, त्यो अनुमति लिन जाँदा चार ठाउँ पुग्नुपर्छ । यो समस्या हुन जरूरी छ,” उनले भने ।