बोर्डको अध्यक्ष भएपछि मुद्दा हालेर मलाई काम गर्न दिइएनः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको बताएका छन्।

शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको वृहत भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बोर्डको अध्यक्ष भएर आएको ५÷६ महिना मात्रै भएको र आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरका हुन्।

उनले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढीरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिबाना र फिल्ममा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको बताएका छन्।

पछिल्लो समय नेपाली फिल्म बनाउन धेरै नै गाह्रो भइरहेको पनि उनले बताए। चलचित्र निर्माणका लागि स्टुडियो, प्रहरीको भ्यान लगायतका स्वीकृति लिन नै झन्झट व्यहोर्नुपरेको उनको भनाइ छ।

केसीले नेपाली निर्माताहरु फिल्म निर्माणका लागि घरखेत बेचेर लाग्ने गरेको तर युट्युब पत्रकारहरुले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरुलाई ठूलो क्षति भइरहेको बताए। उनले कुनैपनि व्यक्तिले अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभइ जरिबाना र फिल्ममा परेको क्षतिपूर्ति तिराउन सरकारसँग माग गरिएको बताए।