टिकटकबाट म्युजिक भिडियोमा उदाएकी ‘मिस पबि’ : कति लिन्छिन् पारिश्रमिक ?

पछिल्ला वर्ष टिकटकबाट म्युजिक भिडियोमा उदाउने कलाकारहरूको संख्या ठूलो छ । त्यसमध्ये केही कलाकारहरू म्युजिक भिडियोमा राम्रैगरी जमिरहेका पनि छन् ।

प्रिज्मा– प्रिन्सी खतिवडा, गरिमा शर्मा, गीता ढुंगाना, सुधार श्रेष्ठ लगायतका कलाकारहरू टिकटकबाटै उदाएका हुन् जो म्युजिक भिडियोमा ‘डिमाण्डेड’ मानिन्छन् ।गरिमा शर्मा त यतिबेला चलचित्रको अभिनेत्री समेत बनिसकेकी छिन् ।

पछिल्लो समय टिकटकबाट म्युजिक भिडियोमा उदाउनेमध्येमा पर्छिन् पवित्रा साँकी अर्थात ‘मिस पबि’ । डडेल्धुराकी उनी टिकटकमा निकै चर्चित छिन् । उनै ‘मिस पबि’ यतिबेला एकपछि अर्को म्युजिक भिडियोमा मोडलिङ गरिरहेकी छिन् ।

केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई सर्वाधिक चर्चा दिलाउने गीत भने ‘जुम्ला’ हो ।दुई साताअघि युट्युबमा सार्वजनिक सुनिल गिरीको उक्त गीतले निकै राम्रो भ्युज पाइरहेको छ ।

यो गीतले चर्चा पाएसँगै उनलाई एकपछि म्युजिक भिडियोहरूबाट मोडलिङका लागि ‘अफर’ आइरहेका छन् । ‘जुम्ला’ पछि मिस पबिले केही म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् ।

जसमध्ये ‘संग संगै’बोलको गीत माघको १ गते सार्वजनिक हुँदैछ ।

थुप्रै गीतहरूबाट अफर आउने गरेको भएपनि मिस पबिले छनोट गरेर मात्रै मोडलिङ गर्ने गरेकी छिन् ।

उनी एउटा म्युजिक भिडियोमा मोडलिङ गरेको ३० हजार रुपैयाँ पारिश्रमिक माग्ने गरेकी छिन् । आफ्नो गीतमा मिस पबिलाई मोडलिङ गराउन लागेका एक गायकले भने – ‘३० हजार रुपैयाँ भन्नुभयो । त्यसमा केही मिलाउँला भन्नुभएको छ ।’

अहिले भिडियोमा काम गरिरहेकी मिस पबिको रुचि चलचित्रतिर पनि छ । कथा, टिम चित्त बुझ्यो भने चलचित्रमा पनि अभिनय गर्ने उनी बताउँदै आएकी छिन् । अभिनयप्रतिको रुचि भने आफूमा सानैदेखि रहेको उनले बताएकी छिन् ।