प्रचण्डको राजनीतिमा परिवारवाद हावी : छोरी र ज्वाइँ नै केन्द्रिय सदस्य !

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाँई जीवन आचार्य पनि केन्द्रीय सदस्य बनेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी गंगासहित उनका श्रीमान् जीवन आचार्यलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।

प्रचण्डले यसअघि गंगा र जीवनलाई केन्द्रीय सदस्यमा प्रस्ताव गर्दा चर्को विरोध भएको थियो। त्यसपछि उनी केही समय पछि हटेका थिए। यसअघि प्रचण्डपुत्री रेनु दाहाल पनि केन्द्रीय सदस्य बनिसकेकी छन्। उनी भरतपुर महानगरपालिकाको मेयर पनि हुन्।

त्यस्तै, माओवादी नेता दीनानाथ शर्माकी छोरी कल्पना शर्मा पनि केन्द्रीय समिति सदस्य बनेकी छन्।

माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन् ।

यद्यपि महासचिवसहितका पदाधिकारीको भने टुंगो गर्न बाँकी छ। ३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।

त्यसैगरी माओवादीले वैकल्पिक केन्द्रीय सदस्य पनि चयन गरेको छ। ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यमध्ये ८६ जनालाई आइतवार मनोनीत गरेर शपथ दिलाइएको छ।

यो बैठकबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ६, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ६, जनता समाजवादी पार्टी (जसपा)बाट पार्टी प्रवेश गरेका तीनजनालाई पनि केन्द्रीय सदस्य बनाइएको छ।

ओमप्रकाश पुन, रमेश परियार, धनबहादुर महर्जन, कृष्ण अधिकारी, दलबहादुर धामी र शंकरबहादुर खड्कालाई केन्द्रीय सदस्य बनाएको छ। माओवादीले ललितपुरका गंगा पराजुली, दिनेश महर्जन र राजकाजी महर्जनलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

यस्तै घनश्यामप्रसाद रजक, मनहरि तिमल्सिना पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन्। अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहले पनि केन्द्रीय सदस्यको शपथ लिएकी छन्।