एमाले प्रवेश गर्ने झाँक्रीको संकेत, भन्छिन्- अझै एमालेमै छु जस्तो लाग्छ, ओलीलाई सधै सम्मान छ

निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले ६ महिनाको लागि मात्रै मन्त्री बन्छु भनेर पार्टी अध्यक्ष माधवकुमार नेपालसँग सही छाप गरेर मन्त्री नबनेको स्पष्ट पारेकी छिन् ।

मन्त्रीबाट राजीनामा दिएलगत्तै प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छनको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । उनले समाजवादी पार्टीकै कारण आफू मन्त्री बनेको स्मरण गराईन् ।

झाँक्रीले आफू भावुक प्रकृतिको व्यक्ति भएकोले आँशु रोक्न नसक्ने बताईन् । र, यो आफ्नो कमजोरी भएकोले अब ४० वर्ष काटिसकेकोले यो कमजोरी सुध्रिने सम्भावना नरहेको उनको भनाई छ ।

उनले आजकै दिनमा एमाले र एकीकृत समाजवादीबीच एकताको सम्भावना नरहेको दाबी गरिन् । तर, पार्टी एकता वा सहकार्यको सम्भावना भने सधैं जीवित रहेको उनको भनाई छ ।

उनले आफूलाई मन्त्री बनाउनको लागि भूमिका खेलेको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई धन्यवाद दिईन् ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबारे भने उनले मन्त्री हुँदा टिकाटिप्पणी वा आलोचना नगरेको स्मरण गराउँदै अहिलेपनि उत्तिकै सम्मान रहेको सुनाईन् । उनले भनिन एमालेमा अझै पनि छु जस्तो लाग्छ।