सावधान नेपाल : सलह आउँदै छ ! (भिडियो सहित)

विश्व नै कोरोना भाइरस जस्तो महामारीको संघर्षमा जूधिरहेको बेलामा कृषकहरुलाई भने यतिबेला रुनु न हाँस्नु भइरहेको छ । फुर्सदको केही समय निकालेर हाँसी ठट्टा गरौं भनेपनि यतिबेला बर्खे धान भित्र्याउने समय भएकोले त्यो पनि मुस्किल नै छ ।

कोरोना भाइरसले उथलपुथल पारेको विश्वको अर्थतन्त्रलाई हल्लाउने गरी अर्को चुनौतिको रुपमा प्रवेश गरेको छ बाली नाली सखाप पार्ने फट्याग्रा जातको सलह किरा । अमेरिकी फौजी किराभन्दा कयौं गुणा बाली बिनाश गर्न सक्ने सलह सम्भावित नोक्सानीको बिगबिगी बन्दै छ ।

अफ्रिकी महादेशको ९ वटा देशहरुमा तहल्का मचाइरहेको यो किरा पाकिस्तान हुँदै हाम्रो छिमेकी भारतको राजस्थान, मध्य प्रदेश र गुजरात राज्य क्षेत्रमा ५० हजार हेक्टरमा सल्किएको छ। नेपालमा भने अब यो भित्रिन कति पनि समय लाग्दैन । बालीको सही व्यवस्थापन गर्न नसके विनाश नजिकै निम्तिदैछ ।

सलह किरा हो भनेर कसरी चिन्ने ? हेर्दा पहेलो र कालो धब्बा त्यसमाथि सानो सिड हुने र समस्त वनस्पतिहरु छोटो समयमा नै रित्याइदिने जिवको रुपमा लिइन्छ । हुल बनाएर हिँड्ने यस किराले विरुवाको हाँगा एवम् बोक्रालाई समेत सखाप पार्ने क्षमता राख्दछ । यो एक दिनमा १सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छ । गुलाबी रङ्गको सलह धेरै उड्ने र खाने गरे पनि फुल भने पार्दैन ।

हलुका पहेँलो सलहले मरुभूमिजस्तोमा फुल पार्छन् । सलहले एकदिनमा करिब ३५हजार मानिस बराबरको खाना खान सक्ने अनुमान गरिएको छ। दुई तीन साता यता नेपालमा मनसून भित्रिए लगत्तै वातावरणमा आएको परिवर्तनमा आफ्नो गतिविधि तथा क्षमता वृद्धि गर्दै यसको फैलावट बढ्न सक्ने तथ्यांक देखिएको हुनाले अब गर्ने के ? घरघरमा गएर भन्न सक्ने सिर्जना पनि छैन तर सचेत हुनु अत्यन्तै जरुरी छ ।

रोकथामको लागि के गर्ने ? सर्वप्रथम , किराको हुल आउन थालेको थाह पाएमा पुर्व तयारी गर्नु पर्छ । लगाइएको बालीमा सम्भव हुने बालिमा झूलको प्रयोग गर्न सकिन्छ । चर्को र जतिसक्दो ठुलो आवाज आउने वस्तुहरु जस्तै थाल ठटाउने , ड्रम बजाउने अथवा ठूलो आवाजमा स्पिकर बजाउने । आगो बालेर ,धूवा गराउने र यसको अण्डालाई खाडल बनाएर पुर्ने । लसूनको, स्प्रेको गन्धले सलहबाट बच्न मधत गर्दछ । धानको ब्याड राख्न करिब १ हप्ता ढिला गर्ने । कृषि विज्ञहरुका अनुसार एउटा हाँसले प्रत्येक दिन २ सय भन्दा बढी सलह खान सक्ने बताएका छन् । नेपाल सरकार, कृषि अनुसन्धान एवम् विश्वविधालयको सहकार्यमा विज्ञ टिम गठन गरी अल्पकालीन र दीर्घकालीन योजनाहरु बनाउनु पर्दछ ।

अन्ततः भोकमरीसम्म निम्त्याउन सक्ने यो किरालाई समयमा नियन्त्रण गर्न नसके भविष्यमा खाध्य संकट नआउला भन्न सकिन्न । (स्तम्भकार देवकोटा कृषि क्याम्पस गौरादहमा बि। एस। सि। ए। जि।मा अध्ययनरत छिन्)