आँखाको समस्याले अलपत्र रहेकी ५ बर्षिय बालिकालाई सहयोग

उत्तम पौडेल , पोखरा

आर्थिक अभावका कारण आँखाको समस्याले अलपत्र रहेकी ५ बर्षिय बालिकालाई मदिरा ब्यवसायी समिति पोखराका सचिव कृष्ण रानाभाटले नगद रु एघार हजार एक सय एघार रुपैया नगद सहयोग गरेका छन । आफ्नो जन्मदिनको अवसर पारेर रानाभाटले सो सहयोग रकम बच्चाकी आमा पबित्रा केसिलाई हस्तान्तरण गरेका छन ।

बाग्लुङ भिङगिढी गाउँपालिका वडा नं ८ घर भई पोखरा ८ मा आफ्ना बाबु आमा सँग बस्दै आएकी आशा के.सी जन्मजात आँखाको समस्याबाट प्रभाबित भएकी हुन । आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचार हुन सकेको छैन । स्थानीय बिद्यालयको शिशु कक्षामा अध्ययनरत केसीलाइ पोखराको हिमालयन आँखा अस्पतालमा जचाउँदा उनको बायाँ आँखामा समस्या देखिएको र शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका थिए । आर्थिक अभावका कारण उपचार गराउन नसकेर उनका अभिभावक चिन्तित बनेका थिए । उनको उपचार र शल्यक्रियाको लागी करीब दश हजार लाग्ने भएता पनि लामो समयदेखि उनको उपचार हुन सकेको थिएन तर रानाभाटले आँखाले भोलि भबिष्यमा बच्चालाई ठुलो समस्या दिने र भबिष्य नै अन्धकार हुने भएका कारण आफुले सहयोग गरेको बताएका छन ।

आशा केसीका बाबु सामान्य जागिरे रहेका छन भने आमाले फलफुल बेचेर जिवन गुजारा गरिरहेका छन । छोरीको आँखाको उपचारका लागी सहयोग रकम पाए पछि आशाकी आमाले छिट्टै छोरीको आँखाको उपचार गराउने भन्दै हर्ष प्रटक गरेकी छिन ।