सावधान ! प्रशोधित खानाले कतै क्यान्सर निम्त्याईरहेको त छैनौं ?

फाल्गुण ६ गते, आइतवार, २०७४,काठमाण्डौं – प्रशोधित खाध्य पदार्थले क्यान्सरको खतरा बढाउने चेतावनी विज्ञहरुले दिएका छन् । तयारी खाना, चिनीजन्य सेरल्स र पेयपदार्थका कारण उत्पन्न हुने रोगले मानिसहरुको मृत्युहुने क्रम बढेको उनीहरुको भनाई छ । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अध्ययनका अनुसार यस्ता तयारी खानाले मध्यम उमेरका महिलामा स्तन क्यान्सरसमेत हुने खतरा हुन्छ ।

औध्योगिक प्रक्रियाद्दारा उत्पादन हुने प्रशोधित खानाहरु आजकाल अधिकांश मानिसको दैनिक जीवनको अभिन्न अंग बनिरहेका छन् । रासायनिक पदार्थ समेत हालेर बनाइएका प्याकिङ खाना घरमा बनाइएका जस्ता कुनै हिसाबले पनि हुँदैंनन् । व्यक्तिले त्यस्ता खाना निरन्तर खाँदा कुनै पनि प्रकारको क्यान्सर हुने खतरा हुने विज्ञको भनाई छ । यस्तै, यस्ता खानामा भिटामिन र फाइबरको पनि कमी हुने भएकाले त्यसबाट उत्पन्न हुने रोग पनि लाग्न सक्ने बताइन्छ । मुख्यतः लामो समय बिग्रन नदिन हालिएका रासायनिक पदार्थ नै क्यान्सरको मुख्य कारक हुन् । अनुसन्धानकर्ताहरुका अनुसार प्रशोधित खाना र क्यान्सरबीचको सम्बन्धका बारेमा गरिएको यो नै पहिलो अनुसन्धान हो ।

प्रशोधित खानाका प्याकेजमा राखिएका लेबल हेरेर चिल्लो, नुन र चिनीको मात्र पनि थाहा पाउन विज्ञहरुले उपभोक्तालाई सल्लाह दिएका छन् । १ लाख ५ हजार वयस्क मानिसको २४ घण्टाको खाने बानीको अध्ययन गरिएको थियो, जसमा उनीहरुको ३२ प्रतिशत खाना प्रशोधित हुने गरेको पाइएको थियो । प्रशोधित खाना कम प्रयोग गर्ने मानिसमा भन्दा बढी प्रयोग गर्नेमा यस्ता मानिसमा ५ वर्षभित्र कुनै पनि खालका क्यान्सर हुने सम्भावना २३ प्रतिशतले रहेको जनाइएको छ ।

पेरिसको सोरवर्न विश्वविध्यालयका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धान अनुसार प्रशोधित खाना धेरै प्रयोग गर्ने भएकाले फ्रेन्च मानिसमा भन्दा बेलायतीमा क्यान्सरको खतरा बढी रहेको बताइन्छ । १९ युरोपेली मुलुकमा गरिएको अध्ययनअनुसार बेलायतमा बिक्री हुने खाध्य पदार्थ मध्ये ५०.७ प्रतिशत खाना उच्च प्रशोधित खाना हुने गर्छ ।

यस्तै, जर्मनीमा ४६.२, आयरल्यान्डमा ४५.९ र फ्रान्समा १४.२ प्रतिशत प्रशोधित खाध्य पदार्थ हुने गर्छ । प्रशोधित खाध्य पदार्थमध्ये तीमध्ये चिनीजन्य पदार्थ २६ प्रतिशत, पेयपदार्थ २० प्रतिशत र ब्रेकफास्ट सेरल १६ प्रतिशत हुने गरेको छ ।

एजेन्सी