निर्वाचन आयोगविरुद्ध बालेन साहले दिए सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र(बालेन) साहले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् ।

तोकिएको समयमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

जरिवाना मिनाहाको माग राखेर उनले निर्वाचन आयोगमा पनि निवेदन दिएका थिए।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित साहले तोकिएको समयमा खर्च विवरण बुझाएनन् । तोकिएको समय ३० दिनभित्रमा खर्च विवरण नबुझाएको भन्दै आयोगले साहलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

उक्त जरिवाना ६ महिनाभित्र नबुझाएमा महानगर प्रमुखको पद नै खारेज हुने भएकाले साहले आयोगमा जरिवाना मिनाहाको निवेदन दिएका थिए ।

आयोगमा खर्च विवरण नबुझाएका बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत भने सार्वजनिक गरिसकेका छन् ।