दाई निरज पाण्डे: भाइ अब फर्केर आउँदैन, उसको बालख छोरालाई कसरी के भन्ने भइरहेको छ (भिडियो सहित)

काठमाडौँ ।

कम्बोडिया र थाइल्यान्डको सिमानानजिकै रहेको पोइपेटस्थित एक क्यासिनोमा भएको भीषण आगलागीमा परी झापाका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ ।

कम्बोडियामा पर्ने ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा उनीसहित २४ जनाको मृत्यु भएको छ ।पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेका थिए।

पाण्डेले आफ्ना छोरा आर्मन शुभ पाण्डेसँग अन्तिम समयमा गरेको भिडिओ कुराकानी परिवारले सेतोपाटीलाई उपलब्ध गराएको छ।

उनले छोरासँग कुरा गर्दै गर्दा तल होटल परिसरमा दमकलको साइरन सुनिन्छ। कोठाभित्र धुँवा छिर्न थालेको देखिन्छ।अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले भन्छन्, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु।

बाबा अलवेज लभ्स यू।’ त्यसपछि उनले छोरालाई सम्झाउँछन्, ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’बिर्तामोडमा रहेका हजुरबुबा-हजुरआमा र मामाघरतर्फका हजुरबा-हजुरआमालगायतलाई पनि माया गर्न छोरालाई आग्रह गर्दै उनले भनेका छन्‚ ‘मामुलाई धेरै माया गर्नू, अग्नि बुवा, लीला मामुलाई माया गर्नू है ।

लमजुङको बुबा-मामुलाई माया गर्नू । सबैभन्दा ठूलो कुरा- राम्रो मान्छे बन्नुपर्छ है छोरा ।’ उनी यसअघि पनि करिब ३ महिना कम्बोडियामा बसेर नेपाल फर्किएका थिए । हेर्नुहोस सेतोपाटीले निराकारका दाजु निरजसँग गरिएको भिडियो कुराकानी ।

महानगरको परिचय बोके पनि विश्व शहर बन्ने यात्रामा असफल काठमाडौंमा ‘मेट्रोपोलिटन’ जीवनशैली र ‘कस्मोपोलिटन’ संस्कृतिको प्रभाव पाइन्छ।

शेखर खरेल
काठमाडौं शहरको चरित्रमाथि लेख्नु एक प्रकारले आफ्नै बकपत्र लेख्नु सरह हो। किनकि, यो यस्तो मानिसको दसी हो जो शहर हुर्के जस्तै गाउँबासीबाट शहर (महानगर) बासीमा कायाकल्प भएको छ। पञ्चायतकालसम्म नगर (वा नगर पञ्चायत) भनिएको काठमाडौं बहुदलको पुनःस्थापनासँगै महानगरमा परिणत भयो।

समयक्रममा मुलुकका अन्य नगरहरूले काठमाडौंको सिको गर्दै आफूमाथि पनि महानगरको ट्याग झुन्ड्याए। तर, आफूलाई महानगर बताउने काठमाडौं शुद्ध महानगर (मेट्रोपोलिस) वा सर्वदेशीय शहर (कस्मोपोलिटन) भने होइन। काठमाडौंलाई सूक्ष्म ढङ्गले नियाल्ने हो भने यो एउटा ठिमाहा शहर हो, जसमा गाउँका अवशेष र शहरका सपना विद्यमान छन्।

संसारका अन्य शहर झैं काठमाडौं पनि रैथाने र आगन्तुक मिलेर बनेको शहर हो। यहाँका रैथानेलाई दुई उपसमूहमा विभाजन गर्न सकिन्छ। पहिलो, भित्री काठमाडौं (बोलीचालीको भाषामा ‘कोर एरिया’)मा जन्मेहुर्केका। दोस्रो, बाहिरी काठमाडौं र काँठ क्षेत्रमा बसोबास गर्दै आएका, जुन क्षेत्र समयक्रममा नगरमा परिणत भए।

आगन्तुकको सन्दर्भ भने विश्वका महानगरहरूभन्दा फरक छ। विश्व महानगर विपरीत काठमाडौंका आगन्तुक बाह्य नभएर आन्तरिक आप्रवास सिर्जित हो। अध्ययन, उद्यम, रोजगारी र विविध खाले अवसरको खोजीमा उनीहरू मुलुकका अन्य भागबाट काठमाडौंको अस्थायी बसोबास र समयक्रममा काठमाडौंबासी बनेका हुन्। आगन्तुक वा बसाइँ सरेका समेत मुलुकबासी नै भएका कारण काठमाडौं महानगर अर्थात् ‘मेट्रोपोलिटन’ मात्र बन्यो, ‘कस्मोपोलिटन’ शहरमा स्तरोन्नति हुन सकेन।

यूरोप-अमेरिका मात्र नभएर एशिया र अझ दक्षिणएशियाकै केही महानगरदेखि काठमाडौं अलग्गै रहनुको मुख्य कारण ‘कस्मोपोलिटन’ चरित्रको अभाव हो। न्यूयोर्क, पेरिस, लन्डन, हङकङ, सिंगापुर, दुबई मात्र नभएर भारतकै मुम्बई र गोवाभन्दा काठमाडौं चारित्रिक रूपमै पृथक् छ। ती शहरहरूमा आफ्नै देश मात्र नभएर अन्य मुलुकका नागरिक अवसरका खोजीमा आउँछन्। सिनेनगरी मुम्बई अर्थात् ‘बलिउड’ भारतीय मात्र नभएर छिमेकका सबै मुलुकका प्रतिभाका निम्ति सपनाको शहर हो।

विदेशीका निम्ति सीमित अवसर भएकाले काठमाडौंमा गैरनेपाली, खास गरी पश्चिमाहरूको उपस्थिति अत्यन्तै पातलो छ। काठमाडौंको प्रवासी समुदाय (एक्स्प्याट कम्युनिटी) सानो र अस्थायी प्रकृतिको छ। यहाँ देखिने विदेशीहरू भनेको मूलतः पर्यटक नै हुन्, जसको संख्या विश्वका पर्यटकीय शहरहरू र यसै शहरको पर्यटकीय सामथ्र्यको हिसाबले पनि न्यून छ।

हाम्रै जस्तो पृष्ठभूमि रहेका पर्यटकले भरिभराउ रहने दक्षिण-पूर्वी एशियाली मुलुकका शहरहरूमा ‘कस्मोपोलिटन’ संस्कृतिको बलियो प्रभाव देख्न सकिन्छ। विश्वमा यस्ता कतिपय देश र शहरहरू छन् जहाँ स्थानीयको संख्यालाई पर्यटकले उछिनेको हुन्छ। उदाहरणका लागि, करीब सात करोड जनसंख्या रहेको फ्रान्समा बर्सेनि करीब नौ करोड पर्यटक भित्रिन्छन्, जसको आधा संख्या त राजधानी पेरिस पुग्छन्।

‘कस्मोपोलिटन’ नभए पनि काठमाडौंको आधुनिकतातर्फको यात्रा भने चाखलाग्दो छ। राणाकालसम्म ‘सांग्रिला’ को छवि बनाएको काठमाडौं एक प्रकारले निषेधित नगर रह्यो। राणाशाहीको पतनसँगै काठमाडौं सारा विश्वका लागि खोलियो। सन् १९५० बाट पश्चिमाहरूको गन्तव्य बन्न थालेको काठमाडौंले सन् ६० को दशकतिर नौला अनुहारहरू देख्यो। अमेरिकाको भियतनाममाथिको आक्रमण र पूँजीवादी उपभोक्तावादले दिक्क भएका प्रतिसंस्कृति (काउन्टर-कल्चर) एवं प्रतिरोधी युवा जमात, जसलाई बिट र हिप्पी भनिन थालियो, काठमाडौं ओइरिन थाले।

परम्परावादी र प्राचीन नगरीमा त्यस जमातको आगमनले नराम्रो हलचल ल्याइदियो। भजन गुन्जिने डबलीछेउ चर्को म्युजिक घन्किन थाल्यो। गल्ली र चोकहरू रक-एन्ड-रोल, जाँज र ब्लूज म्युजिकले गुञ्जायमान हुन थाले। नयाँ नयाँ पहिरन देखिन थाले, खानामा नयाँ नयाँ परिकार थपिन थाले।