विश्वकपमा सर्वाधिक अफसाइड हुने खेलाडी रोनाल्डो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि सुखद रहेन । कतार विश्वकपको पहिलो खेलमा गोल गर्दै दुर्लभ कीर्तिमान राखेका उनका लागि त्यसपछि भने प्रतियोगिता बिर्सनलायक रहयो ।

विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको विश्वकप जित्ने लक्ष्य राखेका रोनाल्डो त्यसमा सफल हुन सकेनन् । समूह चरणको तीनै खेल सुरुवात गरेका रोनाल्डोले प्रतियोगिताभर कुनै खेलमा पूरा ९० मिनेट खेल्न सकेनन् । प्रतियोगिताको नकआउट चरणको दुवै खेलमा उनी पहिलो रोजाइबाट बाहिर रहँदै बेन्चमा रहेका थिए ।

यसपटक विश्वकपमा रोनाल्डोले ५ खेलमा २ सय ९१ मिनेट मैदानमा बिताए । पोर्चुगल क्वाटरफाइनलमा बाहिरिएर रोनाल्डोले पूरा समय नखेलेपनि उनी प्रतियोगितामा सबैभन्दा बढी अफसाइड हुने खेलाडी बने । उनी कुल ७ पटक अफसाइड भएका थिए ।

दोस्रो स्थानमा किलीयन एमबाप्पे ७ खेलमा ५ सय ९७ मिनेट खेल्दा ६ पटक अफसाइड भए । गोल्डेन बल विजेता मेस्सी भने ७ खेलमा ६ सय ९० मिनेट खेल्दै ३ पटक अफसाइड थिए । उनी यस सूचीमा १२ खेलाडीसँग संयुक्त १० औं स्थानमा थिए ।

क्वाटरफाइनलमा मोरक्कोविरुद्ध पहिलो हाफमै पोर्चुगल १-० ले पछि परेसँगै प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफ सुरु भएको केहीबेरमा रोनाल्डोलाई मैदान छिराएका थिए । तर रोनाल्डो र पोर्चुगलले गोल फर्काउन नसक्दा टोली हार बेहोर्न पुग्यो ।

रोनाल्डो खेल सकिएलगत्तै गहभरी आँशु लिएर ड्रेसिङ रुमतर्फ लागेका थिए ।

विश्वकपको पहिलो खेलमा घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै रोनाल्डो विश्वकपको पाँच फरक संस्करणमा गोल गर्ने पहिलो पुरुष खेलाडी बनेका थिए । दोस्रो खेलमा उरुग्वेविरुद्ध ब्रुनो फर्नान्डेसको गोललाई आफ्नो माग गरेका कारण उनी चर्चामा आएका थिए ।

तेस्रो खेलमा भने उनलाई परिवर्तन गर्दाको व्यवहारका कारण प्रशिक्षक सान्तोस रुष्ट बनेका थिए ।

अन्तिम १६ को खेलमा रोनाल्डो पोर्चुगलको बेन्चमा रहेका थिए । उनी खेलको अन्त्यतिर मैदान प्रवेश गरेपनि उनको स्थानमा आएका फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६-१ को जित दिलाए ।

उनै रामोस क्वाटरफाइनलमा भने निकै खराब प्रदर्शन गर्न पुगे । रोनाल्डो दोस्रो हाफमा मैदान छिरेपनि नतिजा बदल्न सकेनन् र विश्वकप बिना नै बिदा भए । समग्रमा रोनाल्डोले सन् २००६ देखि २०२२ सम्म पाँच पटक विश्वकप खेले । यसक्रममा उनले कुल ८ गोल गरेका छन् । रोनाल्डोले विश्वकपमा कुल २२ खेल खेले ।