फुटबल खेलाडीलाई मृत्युदण्ड !

काठमाडौं । इरानी सरकार महसा अमिनीको समर्थनमा भइरहेको प्रदर्शनलाई कुनै पनि हालतमा कुचल्न तयार छ । त्यसका लागि सरकारले आन्दोलनकारीलाई सार्वजनिक फाँसी दिनेलगायत विभिन्न रणनीति अपनाइरहेको छ ।

महसा अमिनीको समर्थनमा र सरकारविरुद्ध प्रदर्शनमा संलग्न इरानी फुटबल खेलाडीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनलाई छिट्टै सार्वजनिक रुपमा फाँसी दिइनेछ ।

रिपोर्टका अनुसार २६ वर्षीय फुटबल खेलाडी अमिर नसर-अजादानीलाई नोभेम्बरमा एक प्रहरी कर्णेल र दुई स्वयंसेवकको हत्याको आरोपमा पक्राउ गरिएको थियो। नसर-अजादानीलाई अल्लाहविरुद्ध युद्ध गरेको आरोप पनि लगाइएको छ।

नसर अजदानी अन्तिम पटक पर्शियन गल्फ प्रो लिगको ट्र्याक्टर कल्चरल स्पोर्ट्स इकोनोमिक क्लबको लागि २०१७-२०१८ मा मैदानमा देखा परेका थिए।

२२ वर्षीया महसा अमिनीको मृत्युपछि देशव्यापी विरोध प्रदर्शनका बीच गत हप्ता इरानमा एक प्रदर्शनकारीलाई फाँसी दिइएको थियो। फाँसीमा झुण्डिएका आन्दोलनकारीको पहिचान मोहसिन शेकारी रहेको छ । इरानको विरोध प्रदर्शनसँग सम्बन्धित मृत्युदण्डको यो पहिलो घटना थियो।

मोहसेनलाई सेप्टेम्बर २५ मा तेहरानको सत्तार खान बुलेभार्ड सडक अवरुद्ध गरेको र एक सुरक्षा गार्डलाई घाइते बनाएको अभियोगमा दोषी पाइयो।

इरानको शरिया कानून अन्तर्गत, उनी अल्लाह विरुद्ध युद्ध छेडेको अभियोगमा दोषी ठहरिएका थिए। उनले आफ्नो फैसलाविरुद्ध अपिल गरेका थिए । तर सर्वोच्च अदालतले नोभेम्बर २० मा यो निर्णयलाई कायम राख्यो।

यसपछि इरानले सरकार विरोधी प्रदर्शनमा संलग्न अर्का प्रदर्शनकारीलाई फाँसी दिएको छ । २३ वर्षीय प्रदर्शनकारी माजिद रेजा रहनावार्डलाई पक्राउ गरेको २३ दिनपछि सार्वजनिक रूपमा फाँसी दिइएको थियो।

मानवअधिकारकर्मीहरूले यी मृत्युदण्डको कडा प्रतिक्रिया दिएका छन्। एम्नेस्टी इन्टरनेशनलले एक विज्ञप्ति जारी गर्दै सरकार विरोधी प्रदर्शनलाई कुचल्नका लागि प्रदर्शनकारीलाई मृत्युदण्ड दिइएको बताएको छ ।

एम्नेस्टी इन्टरनेशनलले एक विज्ञप्तिमा इरान सरकारले सबै मृत्युदण्डको सजाय तत्काल खारेज गर्नुपर्ने बताएको छ । र देशमा भइरहेको प्रदर्शनबाट पक्राउ परेकाहरूबाट सबै आरोप खारेज गरिनुपर्छ।

स्मरण रहोस् कि २२ वर्षीया इरानी युवती मेहसा अमिनीलाई हिजाब राम्रोसँग नलगाएको भन्दै मोरालिटी पुलिसले पक्राउ गरेको थियो । महसा अमिनीको प्रहरी हिरासतमै मृत्यु भएको हो ।

अमिनीको मृत्युमा नैतिकता प्रहरीलाई आरोप लागेको थियो । त्यसपछि देशभर सरकार र हिजाबविरुद्ध प्रदर्शन सुरु भएको थियो । यी प्रदर्शनहरूमा विद्यार्थीहरू सक्रिय रूपमा सहभागी छन्।