श्रीमतीले ढुंगाले हिर्काउँदा युवकको मृत्यु

२९ मंसिर, तनहुँ । तनहुँमा श्रीमतीको कुटाइबाट एक युवकको मृत्यु भएको छ ।

घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा ४० वर्षका मनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

पोखरा महानगरपालिका-३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोलमा बस्दै आएक उनीहरुबीच बुधबार राति विवाद भएको थियो ।

सुशीलाले मादक सेवन गरेको पाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृत्यु भएको हो ।

सुशीलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।