खेलमा अर्जेन्टिनी रेफ्री हुनु दुःखद : पेपे

मोरोक्कोसँग पराजित हुँदै विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि पोर्चुगलका रक्षक पेपेले खेलमा अर्जेन्टिनी रेफ्री हुनु दुःखद् भएको बताएका छन् ।

फर्नान्डो सान्तोसको प्रशिक्षणमा रहेको पोर्चुगल शनिबार विश्वकपको तेस्रो क्वार्टरफाइनल खेलमा मोरोक्कोसँग १–० ले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरियो । कतारको अल थुमामा रंगशालामा युसेफ एन–नेस्रीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा मोरोक्को अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो ।
तर, दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो मैदान प्रवेश गर्नुअघि पोर्चुगलको कप्तानी सम्हालेका पेपे मुख्य रेफ्रीको भूमिकामा रहेका अर्जेन्टिनी रेफ्री फाकुन्डो टेलोप्रति चरम असन्तुष्ट देखिए ।

“यो खेलका लागि अर्जेन्टिनी रेफ्री राख्नु अस्वीकार्य छ । यसबाट म निकै दुःखी छु । मोरोक्को स–साना फाउल गरेर ९० मिनेट नै हामीलाई रोक्ने लक्ष्यमा थियो । तर, यसमा रेफ्रीले कसैलाई पहेँलो कार्ड देखाएनन् । उनले त्यसमा ध्यान समेत दिएनन्,” पेपेले आक्रोश पोखे ।

हारपछि रेफ्रीमाथि आक्रोश पोख्ने पेपे पोर्चुगलका एक्लो खेलाडी होइनन् । मोरोक्कोसँगको हारपछि पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डेजले पनि रेफ्री आफ्नो टिमप्रति पूर्वाग्रही रहेको प्रतिक्रिया दिएका थिए ।

पोर्चुगलका मुख्य प्रशिक्षक सान्तोसले भने आफ्नो टोलीले हार व्यहोर्नुमा रेफ्री टेलोको प्रभाव नरहेको बताए । “खेलका दौरान केही घटनामा उनले फाउलको दिन सक्थे । तर पनि खेलमा टेलोको प्रभाव परेको जस्तो मलाई लाग्दैन,” सान्तोषले भने ।