कांग्रेस कार्यकर्ताको कुटपिटबाट बाजुरामा अनेरास्ववियुका नेताको मृत्यु

बाजुरामा कांग्रेसका कार्यकर्ताले अनेरास्ववियुका नेताको हत्या गरेका छन्। त्रिबेणी नगरपालिका-७ का अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको हो।

निर्घात कुटपिट भएका अयडीको मृत्यु भइसकेको बयलपाटा अस्पतालको प्रमुख डाक्टर मन्दिप पाठकले जानकारी दिए। त्रिबेणी-७ को नाटेश्वरी आधारभुत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यक्रताहरुले चेतनको घरमै गएर कुटपिट गरेर हत्या गरेका हुन्।

उनी घरभित्र रहेको समय घरबाट निकालेर निर्घात कुटपिट गरेका थिए । कुटपीटपछि घाइते अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो। अस्पताल पुर्‍याउने बित्तिकै अयडीलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन्। डाक्टर पाठकका अनुसार अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो । अयडीको शब अहिले बयलपाटा अस्पतालको शवगृहमा राखिएको छ ।

त्रिबेणी ७ मा दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएपश्चात विवादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानीय सञ्जिब अयडीको मृत्यु भएको थियो। सञ्जिब अयडीको मृत्युपछि कांग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्तामाथि कुटपिट गरेका हुन् ।