साजिद खानको एकपछी अर्को पोलको भयो पर्दाफास, नायिकालाई यस्तोसम्म गरेका रहेछन् !

बलिउड फिल्म निर्माता साजिद खान जबदेखि बिग बस कार्यक्रममा सहभागी भएका छन्, उनको प्रवेशमा बबाल मच्चिएको छ । मिटुका आरोपी साजिद खानलाई बिग बसमा देखेपछि थुप्रै नायिकाले कार्यक्रम निर्माता र सलमान खानमाथि रिस पोखिरहेका छन् । थुप्रै नायिकाले मिटुका आरोपी साजिद खानले कुनै पनि प्लेटफर्म पाउन नहुने बताएका छन् ।

साजिद खान बिग बसमा प्रवेशपछि बबाल
साजिद खानको नाम लिँदै थुप्रै नायिकाले उनीमाथि मिटु अन्तर्गत यौन हिंसाको आरोप लगाएका थिए । बिग बसमा भाग लिएका कारण साजिद खान पुनः लाइमलाइटमा आएका छन् । साजिद खान बिग बसको घरमा आएपछि थुप्रै नायिकाले भिन्न भिन्न प्रतिक्रिया दिइरहेका छन् ।

एकातिर राखी सावन्तले साजिदलाई गल्ती सुधार्न दोस्रो मौका दिने कुरा गरिरहेकी छिन् भने अर्कोतर्फ देवोलिना भट्टाचार्जी, मन्दाना करिमी, ऊर्फी जावेदजस्ता थुप्रै नायिका छन् जसले साजिदको स्क्रिन प्रेजेन्समा आपत्ति जताएका छन् । अब यो सूचीमा भोजपुरी नायिका रानी चटर्जीको नाम पनि जोडिएको छ । रानीले एक भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै बिग बसमा साजिद खानको उपस्थितिले आफूलाई रिस उठेको बताएकी छिन् । साजिद खानलेृ उनीमाथि पनि यौन हिंसा गरेको खुलासा गरेकी छिन् ।

रानीले खोलिन् साजिदको पोल
रानी भन्छिन्, ‘यसपटकको बिग बस देखेर मलाई असाध्यै रिस उठिरहेको छ । विशेषगरी साजिद खानलाई देखेर मेरो मन टुटेको छ । मिटु अभियानमार्फत् उसको वास्तविक अनुहार सार्वजनिक भएको थियो । त्यतिबेला हामीजस्ता मानिसलाई थोरै राहत मिलेको थियो ‘कोही त छ, जसमा हिम्मत छ’ भन्ने भएको थियो । युवतीहरुले आवाज उठाएको देखेर म असाध्यै खुसी भएकी थिएँ । बिग बसमा उसलाई देखेर मेरो रगत तात्छ । बिग बसले उसको छविलाई स्वच्छ पार्न किन लागिपरेको छ, मैले बुझिरहेको छैन ।’

रानीले आफूमाथि भएको हिंसाबारे कुरा गर्दै भनिन्, ‘मैले हिम्मतवाला फिल्मका बेला साजिदको समूहसँग सम्पर्क गरेकी थिएँ । साजिदले मलाई फोन गरेर उनले मसँग डाइरेक्ट सम्पर्क गर्न खोजेको बताए । त्यसपछि हाम्रो फोनमा कुराकानी भएपछि उनले ‘मेरो घरमा आउ, त्यहाँ हाम्रो भेट हुन्छ’ भने । साथै, फर्मल मिटिङ भएकोले कोही म्यानेजर वा पिआरलाई नलिइकन एक्लै आउन पनि सल्लाह दिए ।’

रानीले साजिदमाथि लगाइन् यी गम्भीर आरोप

रानीले थपिन्, ‘बलिउडका यति ठूला निर्देशकले भनेको कुरा म कसरी नमानुँ । म जुहुस्थित उनको घर पुगेँ, घरमा उनी एक्लै थिए । साजिदले सुरुमा मलाई भने, ‘मैले तिमीलाई धोखा–धोखा गीतका लागि कास्ट गर्ने सोचेको छु । यसमा तिमीले छोटो लेहेङ्गा लगाउनुपर्छ । मलाई आफ्नो खुट्टा देखाउ ।’ मैले लामो स्कर्ट लगाएको थिएँ, त्यसैले मेरो खुट्टा देखाउन भने । मलाई लाग्यो, यस्तै गर्नुपर्छ, त्यसैले मैले घुँडासम्म आफ्नो खुट्टा देखाएँ।’

नायिकाले भनिन्, ‘मलाई डर लागिरहेको थियो । त्यसपछि स्तनको आकार कति हो भनेर सोधे । मसँग नलजाउ, तिम्रो कोही प्रेमी छ कि छैन । यौन सम्बन्ध कति पटक राख्छौ ? यी सबै सुनेपछि म असहज भएँ र ‘तपाईंले कस्तो कुरा गरेको ?’ भनेर सोधेँ । मलाई असाध्यै असहज महसुस भइरहेको थियो । मेरो कुरा सुनेर उनी पनि चकित परे । उनलाई लागेको थियो होला कि, मैले उनको कुरा मान्नेछु । म त्यहाँबाट तत्काल निस्किएँ । यहाँसम्म कि उनले मलाई गलत तरिकाले छुने कोसिस गरेका थिए ।’