अझै २ बर्ष आमा बन्ने योजना छैनः वर्षा राउत

काठमाडौ :- नायिका वर्षा राउत र नायक तथा व्यवसायी संजोग कोइरालाले ४ बर्ष अगाडि बिहे गरे । ६ बर्ष लामो प्रेम सम्बन्धमा रहेर बिहे गरेका यी दुइको वैवाहिक जीवनमा कहिलेकाही खटपट समेत हुने गरेको छ ।

वर्षाले आफूहरुबिच एकपटक निक्कै ठूलो झगडा परेको स्विकार गरेकी छिन् । सो समयमा आफू र संजोगको सम्बन्ध नै खराब मोडमा पुगेको वर्षाको भनाई छ ।तर, अहिले सबै कुरा राम्रो भएको र आफू खुशी रहेको उनको भनाई छ ।उनै, वर्षाले आमा बन्ने बिषयमा अझै नसोचेको बताइन् । भनिन्–‘मैले संजोगसँग यो बिषयमा कुरा पनि गरेको थिएँ ।

तर, उसले अझै २ बर्ष यो बिषयमा नसोचौं भनेको छ । यसैले, २ बर्षपछि मात्र सोच्नुपर्ला ।’वर्षाले आमा–बाबु बन्ने कुरा सामान्य नभएको पनि तर्क गरिन् ।भनिन्–‘यो सामान्य बिषय हुँदै होइन । धेरै नै ठूलो जिम्मेवारी बहन गर्नुपर्छ । यसैले, पनि सबै कुरामा तयार भएर हामी यसको बिषयमा योजना बनाउँछौं ।’

वर्षाले अभिनय गरेको फिल्म ‘के घर के डेरा’ कार्तिकको ४ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा दर्शकले आफूलाई रुचाउने वर्षाको विश्वास छ ।

राहत वितरण र क्षतिको विवरण सङ्कलन एकैसाथ
नेपालगञ्ज, २७ असोज (रासस)ः
बाँकेका अधिकांश स्थानीय तहले राहत वितरण र क्षतिको विवरण सङ्कलन एकसाथ सुरु गरेका छन् । केही दिनअघिदेखि निरन्तर परेको वर्षाले जनजीवन कष्टकर बनाइरहेको अवस्थामा विस्थापित भएकाहरुलाई राहत वितरण र वास्तविक क्षतिको विवरण निश्चित गर्न लागिएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

राप्ती सोनारी गाउँपालिकामा सर्वपक्षीय बैठक बसेर क्षतिको विवरण सङ्कलन सुरु गरिएको त्यहाँका अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिनुभयो । उहाँले वर्षाका कारण विस्थापनमा परेकालाई प्राथमिकता दिएर कतिपय ठाउँमा राहत वितरण गरिएको बताउनुभयो । “राहत वितरण दोहोरो नहोस् भनेर सजगता अपनाइएको छ” उहाँले भन्नुभयो ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढीले क्षति पुगेका परिवारको पहिचान गर्न निर्देशन दिनुभएको छ ।

स्थानीय विपद् व्यवस्थापन समितिलाई निर्देशन दिँदै उहाँले गााउँपालिकाका छ वडाका अध्यक्षलाई वास्तविक पीडित पहिचान गरी राहतमा कुनै कसर बाँकी नराखेर काम गर्न उहाँले सुझाव दिनुभयो । गाउँपालिकावासीसहित विपद् व्यवस्थापन समितिका अध्यक्ष शाहको अध्यक्षतामा बसेको बैठकले छ वडामा भएको क्षतिको विवरण सङ्कलन गरी राहत वितरण गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकले सङ्कलन भएका राहत सामग्री एकद्वार प्रणालीमार्फत पालिकाबाट वितरण गर्ने, वर्षाका कारण क्षति भएका सार्वजनिक संरचना तत्काल पुनःनिर्माण गराउने, धानबालीको क्षति विवरण कृषि शाखाले सङ्कलन गर्नेलगायतका निर्णय भएको अध्यक्ष शाहले बताउनुभयो । बैजानाथ गाउँपालिकामा पनि राहत वितरण र क्षतिको विवरण सङ्कलन सुरु भएको छ ।

अबको केही दिनमा नै क्षतिको विवरण आउने र थप राहत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत गङ्गाराम सापकोटाले जानकारी दिनुभयो । उहाँले केही पीडितलाई कम्बल र झुलसमेत वितरण गरिएको उल्लेख गर्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाले पनि आकस्मिक रुपमा राहत वितरण गरेको छ । उपमहानगरपालिका–२० मा झुल र केही अत्यावश्यक सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँले सो कार्यसँगै तीन दिनभित्र वर्षाले पु¥याएको क्षतिको विवरण सङ्कलन गर्न वडा कार्यालयलाई आग्रह गरिएको बताउनुभयो ।

जानकी गाउँपालिकाले पनि वर्षाले भएको क्षतिको विवरण सङ्कलन सुरु गरेको छ । क्षतिको विवरण आएपछि मात्रै राहत वितरण सुरु गरिने स्थानीय विपद् व्यवस्थापन समितिका राजेन्द्र बाजपेयीले जानकारी दिनुभयो । बाँकेमा वर्षाले आठ हजार भन्दाबढी पीडित भएका छन् ।