‘इख लिएर चुनावमा जाँदैछौं, ५० लाख पपुलर भोट ल्याउँछौं’ – योगेश भट्टराई

सत्तारुढ दलहरु गठबन्धन गरेर चुनाव लड्ने तयारी गरिरहँदा नेकपा एमालेले भने पार्टी प्रवेशलाई जोड दिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा लगायतका दलसँग तालमेल गर्न तयार देखिएका एमाले नेताहरु समानुपातिकतर्फ (पपुलर भोट)

५० लाख कटाउने र प्रत्यक्षमा पनि बहुमत ल्याउने दाबी गर्ने गरेका छन् । एमाले सचिव योगेश भट्टराई भन्छन्– एमालेमा उत्साह घटेको छैन, बढेको छ । प्रवेश गर्नेहरू उत्साहित छन् । समाजवादीतिर लागेकाहरूसँग जिल्ला कमिटी नै मर्ज भइरहेको छ ।

वडा र गाउँपालिकामा हारेपछि पार्टीका सबैलाई जित्नुपर्छ भन्ने महसुस भएको उनको दाबी छ । भन्छन्, ‘सानो गल्तीले ठूलो नोक्सानी हुने बुझेका छन् । त्यो इख लिएर एमाले चुनावमा भाग लिंदैछ ।

प्रतिनिधिसभा विघटन अब चुनावको मुख्य एजेण्डा नै नबन्ने समेत उनको दाबी छ । विगतमा कांग्रेसले संसद विघटन गरेको र माओवादी नेतृत्वले संविधानसभा विघटन गराएको भन्दै भट्टराईले भने, ‘यो मुख्य एजेण्डा होइन । यदि यही एजेण्डा हो भने उहाँहरूलाई जनताले तिरस्कार गर्छन् ।’

स्थानीय चुनावमा जुन तहको प्रतिकूलता थियो, आउने मंसिर ४ गतेको आमचुनाव त्यो तहको प्रतिकूल छैन । किनकि त्यसबेला एमालेले गठबन्धनसँग सामना नै गर्न सक्दैन भन्ने अवधारणा बनाइएको थियो । तर एमालेले सामना गर्‍यो ।

दोस्रो, स्थानीय चुनावमा पार्टीको आन्तरिक एकता सुदृढ भएन । पार्टीभित्र अन्तर्घात भयो । त्यसैले बितेका केही महिनायता अध्यक्षदेखि हामी सबैले एमालेले हार्नु मुलुकका निम्ति घाटा र नोक्सान हो भन्ने स्कुलिङ गरेका छौं ।

पार्टीभित्र उम्मेदवार छनोटमा पारदर्शिता अपनाइनेछ, न्यायोचित व्यवहार हुन्छ । तर कहिलेकाहीं व्यक्तिको मूल्यांकन सही नहुन पनि सक्छ । त्यस्तो अवस्थामा पनि ‘पार्टी फर्स्ट’ भन्ने स्कुलिङ गरिरहेका छौं ।

अन्तर्घात भएको स्थानीय चुनावमै पनि ३८ लाख मत ल्याएका छौं भने पार्टी एकताबद्ध भएर उभिएमा ७ लाख मत थपिन्छ । यो भनेको ४५ लाख पुग्छौं र अर्को ५ लाख भोट बढाउँछौं । यसरी ५० लाख भोटको लक्ष्य लिएर चुनावमा जाँदैछौं, त्यो आत्मविश्वास छ । (एमाले सचिव भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश)