ओलीले भने : ५० वर्षअघिको वैंश निकालेर अधिनायकवादविरुद्ध लड्न तयार छु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएको सुरक्षा र गाडी सरकारले खोसेको भन्दै उनले त्यो काम अधिनायकवादी भएको बताए । एमाले निकट राष्ट्रिय युव संघ नेपालको राष्ट्रिय प्रचार भेला कार्यक्रममा ओलीले आफूले कसैको पक्ष नलिएको तर सरकारले गरेका गैरकानुनी र अधिनायवादी कामको विरोध गरेको बताए ।

अधिनायकवादको विरोधमा आफू ५० वर्षअघिको वैंश निकालेर लड्न तयार भएको भन्दै ओलीले कडा प्रहार गर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

‘एक दुई जनालाई लहड चल्यो भने, लोकतान्त्रिक अध्यास मिचेर गैरकानुनी ढंगले चल्न पाइन्छ ?’ उनले भने, ‘उनीहरुका यस्ता गतिविधिविरुद्ध हामी नबोलेर को बोल्छ, त्यसकारण मैले भनेको हो, कडा प्रहार आवश्यक छ ।’