सन्दीप लामिछानेसँग पाँच देशको भिसा

राष्ट्रिय क्रिकेट टीमबाट निलम्बनमा परेका सन्दीप लामिछानेसँग पाँच देशको भिसा रहेको खुलेको छ ।

सन्दीपविरुद्ध एक नाबालिकाले पटक पटक जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनीमाथि अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार लामिछानेसँग पाँच देशको भिसा छ । नाम गोप्य राखिदिने सर्तमा ती अधिकृतले भने, ‘उनीसँग इंग्ल्याण्ड, अमेरिका, अष्ट्रेलिया र मलेसियासहित ५ मुलुकको भिसा रहेको अनुसन्धानमा खुलेको छ ।’

भदौ ५ गते क्लोज क्याम्पमा काठमाडौँको एक फाइभ स्टार होटेलमा रहेका सन्दीप घर जाने भन्दै त्यहाँबाट बिदा भएर आफ्नो बा**च ४४४४ नम्बरको सेतो रंङ्गको निशान एक्स-ट्रायल गाडी लिएर ती नाबालिकालाई भेट्न पुरानो बानेश्वर पुगेका थिए ।

लामिछानेले पुरानो बानेश्वरबाट बालिकालाई गाडीको अगाडिको सिटमा राखेर भित्री बाटोबाट सिनामंगल, कोटेश्वर हुँदै नगरकोट पुर्‍याएका थिए । बोजिनी नगरकोट रिसोर्टमा बेलुका ८:३० बजेको समयमा एक किशोरीसँग सन्दीप त्यहाँ पुगेको उक्त रेसोर्टले पुष्टि गरिसकेको छ ।

ती नाबालिकालाई मादक पदार्थ अफर गरेका लामिछानेले बालिकाले इन्कार गरेर जसरी पनि काठमाडौं जाने बताएपछि त्यहाँबाट ११ बजे निस्किएको र होटेलको बिल फोनपे मार्फत भुक्तानी गरेको खबर आएको छ ।

त्यहाँबाट काठमाडौंको पिङ्गलास्थान नजिकको एक होटलमा ल्याएर लामिछानेले ती युवतीलाई पटक पटक करणी गरेको बालिकाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

लामिछानेविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको छ भने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज पुगेका लामिछाने अहिले कहाँ छन् सवैतिर चासोको विषय बनेको छ । लामिछाने त्यहाँबाट हिँडेको अपुष्ट खबर भएतापनि उनी कहाँ छन् भन्ने प्रश्नको उत्तर न नेपाल प्रहरीसँग छ भने न त क्यानका पदाधिकारीहरूसँग ।

क्यानले निलम्बन गरेपछि सामाजिक सञ्जालमार्फत आफू चाँडै नेपाल फर्कने बताएका लामिछाने विदेशमा कुनै देशमा लुकेको हुनसक्ने आशंका हुन थालेको छ ।