‘परमादेश नभएको भए धेरै ठूलाठूला विधेयकहरु पास गर्न पाउँदैनथ्यौं’- देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशको सरकार भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परमादेशकै कारण सँगै बसेर कम गर्ने मौका पाएको जवाफ दिएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले परमादेशकै कारण संसद बचाउन सकेको र सँगै बसेर काम गर्न पाएको टिप्पणी गरे ।

दुई पटक प्रतिनिधिसभा विघटन गरेका निवर्तमान प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै आइरहेका छन् ।

‘हुनत हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुन्छ, यो संसद नै परमादेशबाट आएको हो, जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं’ प्रधानमन्त्री देउवाले भने, ‘परमादेश नभएको भए उहाँ र हामी सँगसँगै काम गर्न नै पाउँदैनथ्यौं, धेरै ठूलाठूला विधेयकहरु पास गर्न नै पाउँदैनथ्यौं ।’

प्रधानमन्त्री देउवाले परमादेशकै कारण भेट गर्ने मौका पाएको टिप्पणी गरे । ‘त्यसकारण परमादेशले हामीलाई भेट गर्ने मौका दियो । यसका लागि न्यायालयले न्याय गरेको मैले महसुस गरेको छु ।’

यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?