फेसबुकमा कमेन्ट पढ्दै ओली !

पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालबाट प्रयोगकर्तामाझ एक भिडियो पोस्ट गरेका छन् । आगामी चुनावमा सामाजिक सञ्जाललाई उच्चतम प्रयोग गर्ने संकेत गर्दै ओलीले सन्देश दिएका हुन् ।

उनले एउटा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई विविध विषयमा सल्लाह सुझावहरू दिनका लागि आमजनतालाई अपिल गरेका छन् । ओलीले कृषि क्षेत्रमा अघि सार्नुपर्ने नीति तथा योजनाहरूका सम्बन्धमा सुझाव मागेका थिए ।

त्यसअनुसार आफूलाई धेरै सुझावहरू प्राप्त भएकोमा उनले धन्यवादज्ञापन गरेका छन् । अबका दिनमा अरु क्षेत्रमा पनि आफूले सुझाव माग्ने उनको भनाइ छ ।

फेसबुकमा कमेन्टहरू नियालिरहेको भिडिओ पोष्ट गर्दै ओलीले भनेका छन्, ‘मलाई आफ्ना महत्वपूर्ण विचार र दृष्टिकोणहरु दिएर सहयोग पुर्‍याउनु हुनेछ भन्ने विश्वास लिएको छु । हामी सम्पर्क र संवादमा रहिरहनेछौं ।’

‘हामी आगामी सरकारमा गएपछि गर्ने कामको मसिनोगरी कार्यतालिका बनाएर कार्यान्वयन गर्नेगरी तयारीमा लागेका छौं। तपाईंको सुझाव र साथको अपेक्षा गर्दछु’, उनले लेखेका छन् ।

माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री देउवाभन्दा ओली सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् ।

यो पनि पढ्नुहोस्ः

एमाले अध्यक्ष ओली र चिनियाँ नेता लीबीच भेटवार्ता

एमाले अध्यक्ष केपी शर्मा ओली र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।

सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ ।

भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान शाक्यलगायत थिए ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु सोमबार काठमाडौँ आएका हुन् । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।