रवि लामिछानेलाई इन्स्पेक्टर तामाङकी आमाको सन्देश-‘मेरो आँशुले पोल्नेछ भत्भती तिमीलाई’

देशमा ‘स्वतन्त्र’ भन्दै हल्लाबाजीमा रमाउनेबाट आफ्नो प्रचारका लागि एउटालाई भेट्ने र अर्कोलाई रेट्ने काम भयो, गत सोमबार दरबारमार्ग प्रहरी बृत्तमा ।

पर्यटन मन्त्री जीवनराम श्रेष्ठ छायाँ सेन्टरस्थित क्यानेडियन भीसा सेन्टरमा पुग्दा दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका गरुड सेक्युरिटीवाला शेरजंग गुरुङलाई भेट्न जाँदा रवि लामिछानेले त्यस्तो हर्कत गरेका हुन् ।

सञ्चार प्रस्तोताको पेशा छोडेर स्वतन्त्र पार्टी खोलेका उनी अन्य राजनीतिक दलहरुप्रति घृणा जगाउने र आफ्नो पक्षमा प्रचार बटुल्ने अभियानमा छन् । त्यही नियतका साथ गत सोमबार शेरजंगलाई भेट्न पुग्दा खिचिएको फोटोका कारण त्यहाँका इन्स्पेक्टर विकास तामाङ कारवाहीमा परेका छन् ।

सामान्यतया प्रहरी कार्यालयमा कुनै घटनामाथि अनुसन्धान भइरहेको व्यक्ति र उनलाई थुन्ने सुरक्षाकर्मीको तस्बिर सार्वजनिक गर्न पाइँदैन । अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गतिविधि पनि गर्न पाइँदैन । तर, रविले यी दुबै कुरा उल्लंघन गरिदिँदा ती इस्पेक्टर अप्ठेरोमा परेका हुन् ।

रवि दरबारमार्ग प्रहरी बृत्तमा पुग्दा अघिल्लो दिन विदेश तालिमबाट फर्केकी त्यहाँकी डिएसपी कोपिला चुडाल उपत्यका प्रहरी रानीपोखरीको ब्रिफिङमा थिइन् । पत्रकार छायाँचन्द्र भण्डारीसँग समाचारको विषयमा धम्की आदानप्रदान भएपछि लेख्ने पत्रकार भूमिगत र डिएसपी कोपिला न्यायको निम्ति कानुनी लडाइँमा छिन् ।

उनी कार्यालयमा नभएको बेला रवि पुग्दा पक्राउ परेका शेरजंगसँग बयान लिने क्रम चलिरहेको थियो । सामान्यतया अनुसन्धानरत व्यक्तिलाई प्रहरीले निश्चित समय तोकेर आफन्त र कानुनी सहयोगीसँग मात्रै भेट्न दिने गर्दछ । नाम र अनुहार चलेको एउटा मान्छे देखेपछि इन्स्पेक्टर विकासले आनाकानी गर्न सकेनन् र हाइफाइरहित जनजातिको छोराले विश्वासमा परेर भेट्न दिए ।

भेटेको मात्रै भए कुरै सकिन्थ्यो, सेल्फीसम्म खिच्न र त्यसलाई सामाजिक सञ्जालमा पुर्याउन भ्याएपछि भेट्न अनुमति दिने पालुङ चौकीबाट आएका २०७२ का इन्स्पेक्टरलाई गैरव्यवसायिक आचरणको आरोपमा उपत्यका कार्यालयले कारवाही गरेको छ ।

जबकि, छायाँ सेन्टरमा भएको घटना भएभन्दा अतिरञ्जित तवरले प्रचारमा ल्याइँदा देशका एकजना मन्त्री विवादमा मुछिएको भन्दै प्रहरीले छिटोभन्दा छिटो यो घटनालाई किनारा लगाउने काम गरिरहेको थियो ।

उनलाई लामो समय हिरासतमा नराख्न र सामान्य अनुसन्धान गरेर रिहा गर्न गृह र पर्यटन मन्त्रालयले प्रहरीलाई पत्र लेखिसकेका थिए । यसैबीच, इन्स्पेक्टरको सदाशयतालाई रविले दुरुपयोग गरेपछि उनले आफ्नो प्रचार त गर्न भ्याए, तर इन्स्पेक्टर आफैँ अप्ठेरोमा परेका छन् ।

रविले ‘मिडिया ट्रायल’ गर्ने मनशाय राखेको प्रहरीका हाकिमहरु बताउँछन् । राज्यका स्थायी संयन्त्रलाई पंगु बनाउने र आफू हावी हुने नियतका साथ अहिले पनि सक्रिय भएका उनले सञ्चारकर्मको जिम्मेवारी भने छाडिसके ।

ती निरीह इन्स्पेक्टरकी बृद्ध आमा रविलाई भन्छिन्, ‘तिमी हिरो बन्ने नाममा मेरो छोरोलाई आज जसरी सतायौ नि, मेरो आँशुको श्राप लाग्नेछ तिमीलाई ।’