टहराको नक्सा पास गरेर पाँचतले घर, महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले बसुन्धरामा बाटो मिचेर बनाइएका घरका पर्खालसहित गेटमा बुधबार डोजर चलाएको छ।

यसअघि ठूल्ठूला कम्प्लेक्स र मलहरूमा कारबाही गर्दै आएको महानगरले शनिबारबाट मूल सडकमा भएका घरका अनधिकृत संरचना भत्काउन सुरू गरेको हो। त्यसैअनुरूप बुधबार महानगर टोली काठमाडौंका विभिन्न स्थानमा कारबाहीका लागि पुगेको थियो।

बसुन्धाराको सिर्जनशील टोल त्यसैमध्ये एक हो।

‘यो टोलका केही घरले बाटो मिचेर पर्खाल लगाएका थिए। हामीले केही समयपहिले नै सूचना दिँदा पनि उहाँहरूले अटेर गरेर अनधिकृत संरचना भत्काउनुभएन,’ वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले सेतोपाटीसँग भने, ‘त्यही भएर हामी बाध्य भएर आफैं भत्काउन अघि सरेका हौं।’

त्यहाँ बाटो मिचेर बनाइएको घरको कम्पाउन्डसहित गेटहरू पनि भत्काइएको उनले जानकारी दिए।

यही क्रममा बनस्थलीको एक किलोमिटर खण्डमा झन्डै सयवटा अनधिकृत संरचना भत्काइएको थापाले बताए।

‘एउटा घरले २०६१ सालमा टहराका लागि भनेर नक्सा पास गरेको रहेछ,’ उनले भने, ‘अहिले त्यहाँ टहराको ठाउँमा पाँचतले घर बनाइएको छ। महानगरले सूचना दिँदा पनि नटेरी बस्नुभयो। आज हामीले त्यो घरको कम्पाउन्ड भत्काएका छौं। उहाँहरूले केही दिनमा आफैंले घर भत्काउनुभएन भने हामी फेरि आएर पूरै भत्काउने छौं।’

उक्त घरको नक्सा कुनै हालतमा पास गर्न सक्ने स्थितिमा नभएको र पूर्ण रूपमा अवैध भएकाले भत्काउनैपर्ने उनको भनाइ छ।

महानगरले यहाँ बाटो मिचेर बनाइएका संरचना भत्काउन साउन पहिलो साता नै ३५ दिने अल्टिमेटम दिएको थियो।

उक्त अवधि सकिएपछि वडाध्यक्ष थापाको आग्रहमा मेयर बालेन शाह स्वयं निरीक्षणका लागि पुगेका थिए। त्यो बेलासम्म अवैध संरचनाहरू जस्ताको तस्तै देखेपछि उनले ती सबै भत्काउन आग्रह गरे।

मेयर शाहले निरीक्षण गरेको १५ दिन बितिसक्दा पनि स्थानीयले चासो नदेखाएपछि भत्काउनुपर्ने अवस्था आएको वडाध्यक्ष थापाले बताए।

हामीले त्यहाँका केही स्थानीयसँग कुरा गर्दा उनीहरूले पनि महानगरले पूर्वसूचना दिएको र मेयर स्वयं आएर अनधिकृत संरचना भत्काउन आग्रह गरेको स्वीकार गरे।

एक स्थानीयका अनुसार गाइडेड ल्यान्ड डेभलपमेन्ट (जिएलडी) ले चार वर्षअघि नै उक्त स्थल निरीक्षण गरेको थियो। त्यस क्रममा कुन घरले कति जग्गा अतिक्रमण गरेको भनी पत्ता लगाएर रिपोर्ट तयार पारिएको थियो। महानगरले त्यही रिपोर्टका आधारमा बाटो अतिक्रमण गरेर जग्गा फराकिलो पार्नेहरूलाई अनधिकृत संरचना हटाइदिन आग्रह गरेको थियो।

त्यस्तै महानगरले महाराजगन्ज, धोबीचौर लगायत ठाउँमा पनि नक्सा पास नगरी बनाइएका टहरा र निर्माणाधीन अस्थायी भवनहरू भत्काएको छ।

काठमाडौं महानगरले दुई साता अघिदेखि नक्सा पासबेगर बनाइएका अनधिकृत संरचना हटाउने अभियान सुरू गरेको हो।