मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्न रोक

काठमाडौं । राइड शेयरिङ सेवा पठाओले आफ्ना राइडर र फुडम्यानहरूलाई बाइकमा मोबाइल स्ट्यान्ड नराख्न अनुरोध गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाएको सूचना पालना गर्दै कम्पनीले आफ्ना राइडरलाई अबदेखि मोबाइल स्ट्यान्ड नराख्न अनुरोध गरेको हो ।

“नेपाल सरकारको प्रचलित कानूम बमोजिम निर्माण भइसकेको बाइकमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरुप परिवर्तन (मोडिफिकेसन) हो र सोही कारण बाइकमा राखिएका मोबाइल स्ट्याण्ड हटाउन भनी केही दिन अगाडि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट पठाओ नेपाललाई सूचना प्राप्त भएको थियो,” पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्नेतले भने, “प्रहरीको आदेश बमोजिम हामीले उक्त सूचना हाम्रा राइडर र फुडम्यान साथीहरूलाई गत सोमबारदेखि जानकारी गराएका छौँ ।”

तर कतिपय राइडर र फुडम्यानबाट मोबाइल स्ट्याण्ड राख्न नपाउँदा गुगल म्याप प्रयोग गर्न कठिनाइ भइरहेको गुनासो आएको उनले बताए ।

“हामी हाम्रा अग्रभागमा खटिएर काम गर्ने साथीहरूको सुझाव र गुनासोलाई सम्बन्धित निकायमा पहल कदमी गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ,” उनले अगाडि भने ।