आफू लखेटिएको पुरानो भिडियो सामाजिक सञ्जालमा शेयर भएपछि महेश बस्नेतद्वारा आपत्ति, भने – ‘उजुरी दिन्छु’

काठमाडौं – नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सांसद महेश बस्नेतले सामाजिक सञ्जालमार्फत पुरानो भिडियो देखाएर आफ्नो चरित्र हत्या गरिएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा उनको एक पुरानो भिडियो भाइरल बनेको छ । जुन भिडियो पुरानो हो ।

नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलबाट महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले भिडियो राखेपछि बस्नेतले आपत्ति जनाएका हुन् । उनले झुटा प्रचार गर्नेमाथि उजुरी दिने तयारी गरेको पनि बताएका छन् ।

यस्तै उनका स्वकीय सचिव दिनेश थापाले पनि बस्नेतलाई नेकपा माओवादी केन्द्रको भातृसंगठनका युवाहरु द्वारा भौतिक आक्रमण गरेको भनि झुटा प्रचार गरिएकोमा आपत्ती जनाएका छन् ।

उनले लेखेका छन् – गहेको स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओबादिका तर्फबाट मेयरको टिकट कृष्ण प्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओबादी कै निवर्तमान मेयर अमान सिंह तामाङ्ग पक्षका कार्यकर्ता विच भएको विवादको भिडियोलाई माओवादी केन्द्रका अराजक तत्वहरु केशव थुलुङ्ग,S.p Regmi लगायतले सामाजिक सञ्जालको दुरुपयोग गरी “नेकपा एमालेका नेता महेश बस्नेतलाई नेकपा माओवादी केन्द्रको भातृसंगठन YCL का युवाहरु द्वारा भौतिक आक्रमण गरेको भनि ” झुटा प्रचार गरिएकोमा हाम्रो गंभिर आपत्ती रहेको छ ।आम हाम्रो सुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै,सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरुलाई कानुनी कारवाही गर्नेछौं। तत्काल साइवर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रकृया अगाडी बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु।स्वकीय सचिव :-दिनेश थापा।