सासू कुटिरहेको भिडियो खिच्ने बालक सम्मानित

अछाममा दुई बुहारीहरुले सासूमाथि अमानवीय व्यवहार गर्दै कुटपिट गरेको भिडियो खिच्ने बालकलाई प्रहरीले सम्मान गरेको छ।

पञ्चदेवल विनायक नगरपालिका–६ की अन्दाजी ५३ वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरिरहेको भिडियो खिचेर सार्वजनिक गरेका ११ वर्षीय बालक दीपेन्द्र न्यौपानेलाई सुदूरपश्चिम प्रदेश सरकारले सम्मानित गरेको हो। उनले खिचेको भिडियोकै कारण पीडकलाई कानुनी कारबाही अघि बढाउन मद्दत मिलेको भन्दै सम्मान गरिएको हो।

प्रष्टसँग बोल्न नसक्ने जैसरामाथि घरायसी विषयलाई लिएर अभद्र व्यवहार गर्दै दुवै बुहारीले कुटपिट गरेका हुन्। कुटपिट गरेको आरोपमा पक्राउ परेकी उनकी बुहारी ३० वर्षीया देवसरा न्यौपाने र ३५ वर्षीया धर्मा न्यौपानेविरुद्ध अमानवीय व्यवहारको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।