पढेका हुँदा के हुँदो रहेछ ! अरु नेता जस्तै ठानेर बालेनलाई ढाँटे, केही मिनेटमै पुष्ट गरे सत्य

काठमाडौं । पढेका व्यक्ति राज्यको उपल्लो दर्जामा पुग्दा के हुन्छ भन्ने कुरा आज काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले पुष्टि गरिदिनुभयो ।

काठमाडौं महानगरपालिकामा पेश गरेको नक्सामा पार्किङ क्षेत्र भनेर स्वीकृति गराएको स्थानमा अल्फाबिटाले फार्मेसी चलाएको सूचनाका आधारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन बिहीबार बुद्ध नगर पुग्नुभएको थियो ।

दलबल सहित पुग्नुभएका मेयरलाई अल्फाबिटाका प्रमुख मालिक द्विराज सिवाकोटीले जनप्रतिनिधि कि डन भन्दै थर्काउँनुभयो ।

उहाँले अरु नेता जस्तौ ठानेर मेयर बालेनलाई आफ्नो भवनको नक्शामा यहाँ व्यापारिक प्रयोजनमा प्रयोग गर्ने भनेर नै अनुमति लिएको दावी गर्नुभयो । बालेनले भवनको नक्शा माग्नुभयो ।

उहाँले छैन भनेर उल्टै नक्शा मेयरसँग हुनुपर्ने भनेर ढिपि गर्नुभयो । बालेनले तपाईको घरको नक्शा मसँग हुन्छ भन्दै चर्को स्वरमा थर्काएको चर्चा अहिले जताततै छ ।

अल्फाबिटाका प्रमुख मालिक सिवाकोटी आफूले पाएको नक्शा अनुसार नै अण्डरग्राउण्डमा व्यवसाय चलाएको दावी गर्नुभयो ।

तर त्यो झुट रहेछ । सिवाकोटीको दावीपछि त्यहाँबाट काठमाडौं महानगरपालिका आउनुभएका बालेनले भवन शाखाबाट नक्सा मगाएर हेर्नुभयो । जहाँ पार्किङ भनिएको थियो, त्यहाँ त अल्फाकेयर फार्मेसी राखिएको थियो।

उहाँ नक्सासँगै नगर प्रहरी र डोजर लिएर पुनः बुद्धनगर पुग्नुभयो र सञ्चालक सिवाकोटीलाई नक्शा देखाएर अवैध संरचनामा डोजर चलाइदिनुभयो । सिवाकोटी नेपाली राजनीतिका शीर्ष नेताहरूसँग निकट सम्बन्ध रहेको व्यवसायीका रूपमा परिचित हुनुहुन्छ ।

अझ एमालेका अधिकांश कार्यक्रमहरू त उहाँकै भवनमा हुने गरेका छन्। महानगरले यसअघि नै महानगर क्षेत्रमा बनेका अवैध संरचना हटाउन ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर, सो सूचना कुनै व्यापारीले पत्याएनन्। उहाँहरूले अवैध संरचना हटाउनुभएन ।

त्यसपछि मेयर बालेन्द्र आफैँ नगर प्रहरी र डोजर लिएर अवैध संरचना भएका स्थान भत्काउन हिँडिरहनुभएको छ । उहाँले बुधबार काठमाडौं मलसँगै रहेका अवैध संचरना पनि हटाउनुभएको थियो ।

बालेन्द्र अहिले नक्शा पास गर्दा बेसमेन्ट पार्किङ भनेर स्वीकृति गराएको तर पछि व्यापारिक प्रयोजनमा प्रयोग गरिएको व्यापारिक भवनका अवैध संरचना हटाउने अभियानमा हुनुहुन्छ ।

व्यापारिक भवनमा रहेका व्यवसाय तथा कार्यालयहरुलाई बेसमेन्ट पार्किङ दिनुपर्ने उहाँको दावी छ । त्यसो हुँदा अव्यवस्थित पार्किङ्ग, हरेक घर अगाडिका सडकमा गरिने पार्किङ्ग अन्त्य भएर सहज र सुन्दर सहरमा काठमाडौं परिणत हुने उहाँको दावी छ ।