हर्क साम्पाङलाई बालेनको व्यंग्य : ‘५-५ किलो फोहोर बोकेर बञ्चरे डाँडा जाऔं केटा हो !’

‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

साम्पाङको यो स्टाटसको ‘स्क्रीन शट’ घिमिरे थरका एक फेसबूक प्रयोगकर्ताले ‘मेन्स रूम रिलोडेड’ (एमआरआर) ग्रूपमा शेयर गरेका थिए ।

त्यसैमा कमेन्ट गर्दै बालेनले लेखेका छन्–

‘हिँड न केटा हो, ५-५ केजी फोहोर बोकेर बञ्चरे । किन चाहियो ट्रक, किन चाहियो बाटो, किन चाहियो व्यवस्थापन ?’

हर्क साम्पाङले अधिकांश काम जनश्रमदानको बलमा गरिरहेका छन् । काठमाडौंमा पनि श्रमदान गर्न मन लाग्यो भनेर गरेको व्यंग्यको प्रत्युत्तरमा बालेनले उल्टै साम्पाङको कार्यशैलीप्रति व्यंग्य गरेका हुन् ।

हेर्नुहोस्, बालेनले गरेको व्यंग्यको ‘स्क्रीन शट’ :

फेसबूकमा बालेनको एउटा आधिकारिक पेज र एउटा प्रोफाइल छ । पेज भेरिफाइड छ भने प्रोफाइल भेरिफाइड छैन ।

बालेनले पहिलेदेखि नै प्रयोग गर्दै आएको उक्त प्रोफाइलमा अहिले १ लाख ५७ हजार ३२० जनाले फलो गरेका छन् । पेजमा भने ९ लाख १९ हजार जनाले लाइक गरेका छन् ।

बालेनले आफूले पहिलेदेखि नै चलाउँदै आएको फेसबूक प्रोफाइलबाट साम्पाङप्रति कमेन्ट गरेका हुन् ।

हेर्नुहोस्, बालेनले कमेन्ट गरेको फेसबूक प्रोफाइलको स्क्रीन शट :

बालेन र साम्पाङ दुवै स्वतन्त्र रूपमा चुनाव जितेका मेयर हुन् ।

साम्पाङले छोटो समयमा नै आफ्ना मतदातालाई थोरै भने पनि खुशी दिन सफलता हासिल गरेका छन् भने बालेनले आजसम्म उल्लेख्य काम गर्न सकेका छैनन् । त्यसो त निर्वाचित भएको १०० दिन पनि हुनै बाँकी छ।

बालेनलाई काठमाडौंको फोहोर व्यवस्थापन नै निकै चुनौतीपूर्ण बनिरहेको छ ।