वाम गठबन्धन : ओलीले हैसियत सोधेपछि झलनाथ पनि मोडिए

२७ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गएको २२ साउनमा गृह प्रदेश लुम्बिनी पुगेर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम तालमेल नहुने बताए । बुटवलमा आयोजित रुपन्देही जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा पोखरेलले भने, ‘पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम तालमेल हुन्न ।’

पोखरेल मात्रै नभएर एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरूले लामो समयदेखि प्रचण्ड र माधव नेपाल बिनाको बलियो कम्युनिष्ट पार्टी बनाउने दावी गरिरहेका छन् ।

तर प्रचण्ड र माधव नेपालको साथ पाएकैले नेपाली कांग्रेसले शक्ति आर्जन गरेको छ भने एमालेले गुमाएको छ । ‘माओवादी र एकीकृत समाजवादीमा विचार, गन्तव्य र लक्ष्यमै द्विविधा छ । पार्टी फुटाएर नेपाली कांग्रेसको सहारामा हिँड्नुपर्ने बाध्यता छ’, त्यसदिन बुटवलमा पोखरेलले भने । जबकी एमाले नेताहरूको यस्तो आक्रोशले कांग्रेस नेतृत्वको गठबन्धन चाहिँ थप मजबुत बनिरहेको छ ।

पोखरेलले प्रचण्ड र माधव नेपालप्रति निषेधात्मक आक्रोश पोख्नु दुई दिन अघि (२० साउनमा) मात्रै बालुवाटारमा सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुग्याउने गरी कार्यदल बनाइसकेको थियो । ‘हामी सम्भावित अवसर पनि उपयोग गर्नेतिर लागेनौं । प्रतिश्पर्धी नेता निषेध गर्न खोज्दा पार्टी एक्लिने अवस्था बन्यो’, एमालेका एक नेता भन्छन् ।

ती नेताका भनाइमा, ४ मंसिरको चुनाव आउनु तीन महिना बढी समय बाँकी रहँदै सत्तारुढबीच सिट फाँडफाँटकै गृहकार्य हुनुमा एमाले नेताहरुको अभिव्यक्तिले मुख्य भूमिका खेलेको छ ।

गएको ३० वैशाखको स्थानीय चुनावपछि माओवादी केन्द्र र एकीकृत समाजवादीकै नेताहरू एमालेसँग तालमेलको पक्षमा उभिएका थिए । पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि वाम तालमेलको पक्षमा रहेका नेताहरुकै पंक्तिमा उभिए ।

एमालेसँग चुनावी तालमेलदेखि एकतामा समेत जान सकिने नेता खनालको सार्वजनिक अभिव्यक्तिले सत्ता गठबन्धन र एकीकृत समाजवादीभित्र राम्रै हलचल ल्यायो । खनालको अभिव्यक्तिले वाम एकताको पक्षमा पहिलेबाटै वकालत गर्दै आएका एमाले नेताहरू पनि उत्साहित भए । गएको ९ चैतको स्थायी कमिटी बैठकमै घनश्याम भूसालले तीन वटै पार्टीबीच (एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी) सैद्धान्तिक–वैचारिक मतभेद नरहेकाले एकता गर्नुपर्ने प्रस्ताव राखेका थिए । वाम तालमेल हुँदा चुनावको नतिजामा ठूलो अन्तर पर्ने भूसालको प्रस्ताव त्यसबेला ओलीले अस्वीकार गरे ।

३० वैशाखको स्थानीय चुनावमा ०७४ भन्दा ८८ सिट गुमाएर २०५ स्थानीय तहमा खुम्चिएको एमालेभित्र वाम तालमेलको पक्षमा उभिने नेताहरुको संख्या बढेको छ । विशेषगरी प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूमध्ये ठूलो संख्या वाम तालमेल चाहन्छन्, जसले वाम तालमेलकै जगमा ०७४ मा जितेका थिए ।

तर सार्वजनिक रुपमा तालमेलको वकालत गरेर पार्टी नेतृत्व चिढ्याउने हिम्मत चाहिँ उनीहरुमा देखिएनन् । किनकि एमालेभित्र ओली भन्दा फरक मत राख्नेले आगामी चुनावमा टिकट पाउनै मुस्किल छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने सार्वजनिक अभिव्यक्ति दिनेदेखि पार्टी नेतृत्वसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतसँग यो अवधिमा भेटे ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुँदा कतै पनि नलागेका वामदेव गौतमले पनि स्थानीय चुनावपछि वाम तालमेलको प्रयत्न गरे । प्रचण्ड, माधव, झलनाथ र नारायणकाजी श्रेष्ठ सहित केही भेटवार्ता पनि गरे । ‘विभाजित नेकपाका सबै घटक नभएपनि पूर्व एमालेसम्म मिल्न सकिन्छ कि भन्ने थियो, तर त्यो सम्भावना पनि तत्काललाई सकियो’, खनाल निकट एक नेता भन्छन् ।