नामको मात्र कम्युनिष्ट पार्टी हुनुभन्दा नेपाली कांग्रेस राम्रो : माधव नेपाल

काठमाडौं १५ साउन :

नेकपा समाजवादी एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले गएको स्थानीय तह आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हासिल हुने बताएका छन् ।

समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको गीतमात्रै गाउँदा स्थानीय तहमा अपेक्षा गरे अनुसारको नतिजा नआएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

वर्तमान सत्ता गठवन्धन अवको चुनावसम्म पनि कायम राख्नुपर्ने बताएका उनले विचार र मान्यताबाट सिर्जना भएको गठबन्धनको औचित्य भने समाप्त नभएको बताए ।

नामको मात्र कम्युनिष्ट पार्टी हुनुभन्दा नेपाली कांग्रेस राम्रो भएको टिप्पणी गरेका उनले भने, केशरजंग राइमाझीको कम्युनिष्ट पार्टीले राजाको निरंकुशतालाई समर्थन गर्‍यो, नेपाली कांग्रेसले गणतन्त्रको पक्षमा आन्दोलन गर्‍यो,नाम मात्रै कम्युनिष्ट पार्टी भएर हुँदैन, व्यवहारबाटै कम्युनिष्ट हुनु पर्छ ।’

आफूहरूले सच्चा कम्युनिष्ट पार्टी वनाउन खोजेको दावी गरेका उनले पार्टी एकताको लागि गृहकार्य भइरहेको बताए ।