देशलाई पछिसम्म सम्झना हुने गरि केही दिने सपना छ – प्रचण्ड

काठमाडौं साउन १४

नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गर्नुभएको छ ।

शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एक पटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको हो ।

उहाँले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको बताउनुभयो ।

उहाँले आफ्नो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना बुनेको बताउनुभयो । अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको निर्वाचनमा देशमा दोस्रो जनीतिक शक्ति बन्ने दाबी गर्नुभयो । उहाँले दोस्रो शक्ति बनाउने गरी नेपाली कांग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी दिनुभयो ।

अध्यक्ष दाहालले नेत्रविक्रम चन्द, मोन वैद्य र पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा.बाबुराम भट्टराई माओवादी नभएको दाबी गर्नुभयो । उहाँले गत स्थानीय तहको निर्वाचनले नेपालमा रहेको एकमात्र माओावदी –माओवादी केन्द्र) मात्रै रहेको जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले माओवादीले किसान लक्षित उत्पादन वृद्धि गर्ने बजेट ल्याएको बताउनुभयो । उहाँले किसानलक्षित बजेट ल्याएका कारण प्रतिक्रियावादीहरु, बुर्जुवाहरु र दलालहरु आत्तिएर आफूमाथि विभिन्न आरोप लगाइरहेको बताउनुभयो । अध्यक्ष दाहालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्न र एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन माओवादीका कारण सम्भव भएको उल्लेख गर्नुभयो ।

उहाँले माओवादीमाथि आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभयो । अध्यक्ष दाहालले देश विकास गर्नेकुरा माओवादी बिना सम्भव नरहेको उल्लेख गर्दै आउने तीन महिना माओवादीका लागि चुनौतीपूर्ण रहेको बताउनुभयो ।

उहाँले देशको राजनीतिक मानचित्र बदल्नसक्ने तागत माओवादीसँग मात्रै रहेको भन्दै आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले समाज भत्काउने प्रतिगमनकारीहरुले राजनीतिमा बुढापाकाहरु चाहिँदैन भन्ने गरेको उल्लेख गर्दै त्यसलाई पराजित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन चुनावसम्म पनि कायम रहने र कुनै समाजवादी केन्द्र नबन्ने उद्घोष गर्नुभयो । उहाँले आगामी प्रदेश र संघको निर्वाचनमा मान्छे हेरिहेरि टिकट बाँड्न पाइने भएकोले निर्वाचनमा टिकट वितरण गर्न गाह्रो नरहेको उल्लेख गर्नुभयो ।