सत्ता गठबन्धनभित्रकाे समाजवादी केन्द्र आवश्यकता कि बार्गेनिङ अस्त्र ?

काठमाडाैं । सत्ता गठबन्धनमा रहेका दलहरु अहिले कांग्रेसलाई बाहिर राखेर उपगठबन्धनको तयारीमा जुटेका छन् । आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा वर्तमान गठबन्धनलाई नै कायम राख्ने भनेका दलका नेताहरु नै उपगठबन्धनको तयारीमा किन दाैडिए भनेर कार्यकर्ताले बुझ्न सकेका छैनन्। उपगठबन्धनको तयारीले सत्ता गठबन्धनलाइ नै अप्ठयाराे नपार्ला भन्न सकिदैन ।

कांग्रेसले अबको निर्वाचनपछि पनि नेतृत्व आफूहरुले नै गर्ने भनेपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको चाहनालाई लगाम लगाउन समाजवादी केन्द्रको तानाबाना बुन्दै हिड्ेका छन् ।

अध्यक्ष प्रचण्डको अग्रसरतामा समाजवादी केन्द्र बनाउने नाममा वाम गठबन्धनको कसरत भइरहेको छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले वामपन्थीहरुले गर्न लागेको उपगठबन्धनको उदेश्य राम्रैसँग बुझेको छ । यसलाई कांग्रेसले आगामी निर्वाचनमा सिट बाडफाँटमा बार्गेनिङ पावर बढाउने प्रयासको रुपमा लिएको छ ।

कांग्रेसले निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि आफैले लिने भनेपछि गठबन्धनभित्र उकुसमुकुस भएको हो । नेकपा एमालेलाई ठेगान लगाउन गरिएको भनिएको गठबन्धन भित्रै खुट्टा तान्ने र पछार्ने खेल भईरहेको छ । गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल गर्ने कुरा भन्न जति सजिलो छ ब्यवहारमा कठिन देखिएको छ । उनीहरु एउटै चुनाव चिन्हमा चुनाव लड्छन् वा मोर्चा बनाएर जान्छन् भन्ने विषय पनि अन्यौलमैछ ।

गत स्थानीय तहको निर्वाचनबाट नै दलहरु झस्किएका छन् । भित्री मनले भन्ने हो भने एक अर्कामा विश्वासै छैन । कतै स्थानीय तहको निर्वाचनमा जस्तै धोका हुने पो हो कि भन्ने गठबन्धनभित्रका साना दलहरुलाई लागेको छ । कांग्रेस र माओवादीले राम्रैसँग गठबन्धनको फाइदा उठाए । त्यसो त माधवकुमार नेपाल नेतृत्वको दललाई पनि सोचेको भन्दा फाइदा नै भएको छ । तर उसले धोका भएको भन्न छाडेको छैन

प्रचण्डको चाहनाअनुसार नै अहिले सत्तारुढ वाम दलका बीचमा गठबन्धन बनाउने प्रयास भैरहेको छ । माओवादी, नेकपा एकीकृत समाजवादी, जसपाबाट अलग भएको बाबुराम भट्टराई पक्ष र राष्ट्रिय सभामा सदस्य रहेका वामदेव गौतमसम्मको उपस्थितिमा वाम गठबन्धनका लागि निरन्तर छलफल चलिरहेको छ ।तर, सफल हुन सकिरहेको छैन ।

वामपन्थी दलको पहललाई आगामी निर्वाचनमा कांग्रेससँग बार्गेनिङ पावर बढाउने कसरतका रुपमा हेरिएको छ ।समाजवादी केन्द्रले स्पष्ट आकार ग्रहण नभईसकेको अवस्थामा यसले राजनीतिक तरगं सिर्जना गरे पनि काम भन्दा कुरा धेरै भएको भन्दै आलोचना भएको छ ।

वामपन्थी दलहरु उपगठबन्धनको कसरतमा लागेपछि नेपाली कांग्रेसका नेताहरु सशंकित छन् ।सत्तारुढ दलभित्र छुट्टै गठबन्धन आवश्यकता कि बार्गेनिङका लागि हो भनेर दलका नेताहरुले नै छुट्याउन सकेकाा छैनन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अबको प्रधानमन्त्री हुने किसिमले तयारी गरिरहेका छन् ।