फूर्वा तामाङद्वारा नायिका मिरुनाविरुद्व अदालतमा दुई वटा मुद्दा दर्ता

फूर्वासाङ्बो तामाङले नायिका मिरुना मगर र पृथ्वीसिंह ठकुरीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेका छन् । बुधवार जिल्ला अदालत पुगी तामाङले गाली बेइज्जती र कुटपिट सम्बन्धी मुद्दा दर्ता गरेका हुन् ।

‘मैले गाली बेइज्जती र कुटपिट विषयमा दुई वटा मुद्दा दर्ता गरेको छु ।’ मुद्दा दर्ता गरेपछि तामाङले भने‚ ‘मिरुनाले गत जेठ १५ गते काठमाडौँको सिभिल मलमा आफूलाई ‘ब्याड टच’ गरेको आरोप लगाउँदै झापड हानेको थियो । त्यसपछि उनका अङ्गरक्षक भनिने ठकुरीले मलाई भर्‍याङतिर लछारपछार गरेको र घाँटी न्याकेर सार्वजनिक रुपमा माफी माग्न लगाएको थियो ।’

तामाङका अनुसार आफू निर्दोष भएर पनि प्रहरी हिरासतमा पुर्‍याएको‚ करिअर सकाउने‚ लामा वस्त्र उतार्ने लगायतको धम्की मिरुनाले दिएको थियो ।
माफी माग्ने सवालमा पटकपटक पहल गर्दा पनि आजसम्म मिरुनाले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फूर्वाले बताए ।

मुलुकी अपराध संहिता‚ २०७४ को गाली बेइज्जती सम्बन्धी कसुरमा यस्तो व्यवस्था छ ।

गाली गर्न नहुने :

(१) कसैले कसैलाई गाली गर्न हुँदैन ।
(२) (२) उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिनेछ ।

(३) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

कुटपिट गर्न नहुने

१) कसैले कसैलाई कुटपिट गर्न हुँदैन ।
२) कसैले कसैलाई देहायको कुनै कार्य गरेमा निजले कुटपिट गरेको मानिनेछ

क) कुनै किसिमको शारीरिक पीडा पुर्‍याएमा
ख) कुनै काम गरी दफा १०४ र १०५ मा उल्लिखित रोग बाहेकको अन्य रोग सारेमा‚
ग) अन्य कुनै कार्य गरी असक्त बनाएमा ।