प्रदुषित नदीको पानी सिधै पिएपछि पञ्जाबका मुख्यमन्त्री अस्पताल भर्ना

एजेन्सी । सुल्तानपुर लोधीस्थित शिखहरुको पवित्र खोला काली बेनको पानी गिलासमा भरेर सिधै पिएपछि पञ्जाबका मुख्यमन्त्री भगवन्त मान बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने स्थिति आयो । उनलाई दिल्लीको इन्द्रप्रस्थ एपोलो अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् ।

मंगलबार राति मानलाई बेस्कन पेट दुखेपछि अस्पताल लगिएको स्रोतलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन् । पेट दुखाई धेरै नै पीडादायी भएकाले उनलाई उनलाई दिल्लीको अस्पताल एयरलिफ्ट गरेर लगिएको थियो । तर मुख्यमन्त्री मानको अस्वस्थतालाई राज्य सरकारले लुकाउन खोजेको थियो ।

मुख्यमन्त्री आबद्ध आम आदमी पार्टीका नेताहरूले मुख्यमन्त्री नियमित चेकअपका लागि अस्पताल गएको प्रतिक्रिया दियो । तर आम आदमी पार्टी पञ्जाबको ट्वीटर एकाउन्टले ट्वीटरमा हालेको मुख्यमन्त्रीको एक भिडियोले भने उनलाई संक्रमण भएकै कुरातर्फ संकेत गथ्र्यो । त्यसमा मानले नदीको पानी सिधै उभाएर पिएका छन् ।

भारतीय मिडियाहरूले तिनको स्रोतलाई उदृत गर्दै मानको अस्पताल भर्ना फोहोर पानीकै कारण भएको लेखेका छन् । भिडियो गत आइतबारको हो । त्यस दिन चर्चित पर्यावरणविद् र पञ्जाब राज्यसभा सांसद बाबा बलवीर सिंह सिचेवालले मुख्यमन्त्रीलाई काली बेन नदीको सफाइको २२ औं वार्षिकोत्सवमा भाग लिन आमन्त्रित गरेका थिए । त्यहाँ पुगेका मुख्यमन्त्रीले सिचेवालको कामको प्रशंसामात्र गरेनन् खोलाको पानी सिधै उभाएर पिए ।

पानी पिएपछि भगवन्त मानले यस अवसर पाएकोमा आफूलाई धन्य भएको बताए । सो अवसरमा मुख्यमन्त्री मानले पञ्जाब सरकारले नदी र नालाहरू सफा गर्न राज्यव्यापी अभियान सुरु गर्ने घोषणा गरे ।

कालीबेन सरसफाइका लागि सन्तबाबा बलवीर सिंह सिचेवालले गरेको प्रयासको प्रशंसा गर्दै मुख्यमन्त्रीले करिब २२ वर्षअघि सिंहले सुरु गरेको पहलले गुरु नानक देवले समेत स्नान गर्ने गरेको यो खोलाको सरसफाइमा उत्प्रेरकको काम भएको बताए । तर नदी सामान्यतया छिमेकी सहर र गाउँहरूबाट निस्कने फोहोरबाट प्रदूषित हुने गर्छ । यसैले उनलाई विरामी बनाएको स्रोतले बताएको छ ।