गणेशमान र गिरिजा कांग्रेस थिएनन्, कम्युनिष्ट थिए : केपी ओली

साउन ७, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाली कांग्रेसका अधिकांश ठूला नेताहरु विगतमा कम्युनिष्ट भएको दाबी गरेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष ओलीले गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला सुरुमा कम्युनिष्ट भएको दाबी गरेका हुन् ।

विस २००३ सालमा भएको मजदुर आन्दोलनमा गिरिजाप्रसाद कोइराला मनमोहन अधिकारीबाट प्रभावित भएर कम्युनिष्ट कार्यकर्ताको रुपमा आन्दोलनमा सहभागि भएको ओलीको भनाई छ । त्यसैगरी ओलीले गणेशमान सिंह कहिलै पनि कांग्रेस थिएनन् भनेका छन् ।

गिरिजाप्रसाद कोइरालको बारेमा ओलीको तर्क यस्तो छ–”कतिलाई लाग्दा गिरिजाप्रसाद कोइराला, कांग्रेस पनि मजदुर आन्दोलनमा रहेछन् नि भन्ने । होइन, त्यतिबेला गिरिजाप्रसाद कोइराला मनमोहन अधिकारीबाट प्रभावित भएर उहाँ कम्युनिष्ट कार्यकर्ता हुनुहुन्थ्यो र कम्युनिष्टको हैसियतले उहाँ मजदुर आन्दोलनमा लाग्नुभएको थियो, कम्युनिष्ट भएर, कांग्रेस भएर होइन । ३ सालको आन्दोलनमा गिरिजाप्रसाद कोइराला मनमोहन अधिकारीको प्रभावमा कम्युनिष्ट हुनुहुन्थ्यो । पछि वीपी कोइरालाले फेरी उहाँलाई कांग्रेस बनाएको हो ।”

गणेशमानका बारेमा दाबी गर्दै ओलीले भने–”गणेशमानजि कहिलै पनि कांग्रेस होइन । अखिल भारतीय राष्ट्रिय कांग्रेसलाई अखिल हटाएर नेपाली राष्ट्रिय कांग्रेस बनाउने मान्छे हो ।”

शहिद गंगालाल श्रेष्ठले खोलेको राजनीतिक संगठन प्रजा परिषदको अगुवाई धर्मभक्त माथेमाले गरेको र त्यसमा गणेशमान सिंह पनि सहभागि भएको ओलीले बताए । त्यसबेला गणेशमान पनि कम्युनिष्ट भएको ओलीको दाबी छ । कांग्रेसको जन्म अखिल भारतीय नेपाली कांग्रेसको नाममा भएको तर पछि गणेशमान सिंहले नाम परिवर्तन गराएर नेपाली राष्ट्रिय कांग्रेस बनाएको ओलीको भनाई छ । ओलीले नेपाली कांग्रेसका तर्फबाट प्रजातान्त्रिक लडाईंमा सहिद भएकाहरुलाई कांग्रेसले उचित सम्मान नदिएको आरोप पनि लगाएका छन् ।