सडक बालबालिकाको मिर्गौला तस्करी पक्राउ

काठमाडौं । मानव अंग बेचबिखन गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा रामेछाप मन्‍थलीका २८ वर्षीय बिधान हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका ३१ वर्षीय विजय कुँवर, विमलकुमार शाही, धुपेन्द्र शाही र छोटे भन्ने आशिष तामाङ छन्।

उनीहरूमाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत अनुसन्‍धान गरिरहेको छ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पक्राउ पर्ने व्यक्तिहरूले सडक बालबालिकाका मिर्गौला भारत लगेर बेच्ने गरेका थिए।

मल्लका अनुसार यस घटनामा दुई जनाको भूमिका मुख्य देखिन्छ।

बिधान र बिजयले अन्य पक्राउ परेका व्यक्तिलाई काठमाडौंका सडकपेटीमा बस्ने बालबालिकासँग चिनजान गराउन पठाउँथे।

भेटेपछि उनीहरूको काम मिर्गौलाबारे जानकारी दिने र प्रलोभनमा पारेर बेच्न लग्ने। मानिसको शरीरमा दुई वटा मिर्गौला हुने र ती मध्ये एउटा बेचे पनि आफ्नो शरीरलाई कुनै असर नपर्ने भन्ने कुरा सुनाउँथे।

एउटा मिर्गौला बेचे पाँच लाखसम्म कमाइ हुने भनेर प्रलोभनमा पनि पार्थे। अझ भारतबाट नेपाल आउने समयमा ५० हजार पर्ने मोबाइल पनि पाइने आश्वासन दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पक्राउ पर्ने व्यक्तिहरूले भने दुई लाख मात्रै पाउने प्रहरी उपरीक्षक मल्लले बताए।

अझ विश्वासमा लिन उनीहरू आफैंले पनि मिर्गौला बेचिसकेको र केही पनि नहुने भन्दै आफ्नै शरीरमा भएको खत समेत देखाउँथे।

‘उनीहरूको पनि पहिले मिर्गौला बिक्री भइसकेको थियो। त्यसपछि यसरी कमाइ हुँदो रहेछ भनेपछि उनीहरूले पनि यसरी नै धन्दा चलाउन थाले,’ मल्लले भने,‘आफ्नो नभएपछि आफ्नै पूरानो घाउको खत देखायो। प्रलोभनमा पार्न सहज भयो।’

त्यसरी विश्वासमा पारेका मध्ये दुई जना पीडित प्रहरीको सम्पर्कमा आएका छन्। उनीहरूले प्रहरी कार्यालयमा जाहेरी पनि दिइसकेका छन्।

मिर्गौला राम्रो हुनेको खानेकुरा समेत खान दिएर स्वस्थ्य भएपछि निकाल्ने गरेको पाइएको उनले बताए।

ती पीडितको होटेलमा खाने-बस्ने व्यवस्था पनि उनीहरूले नै गरिदिएका थिए। उनीहरूले यसरी नै तीन महिनासम्म आफैं पाल्थे पनि।

सबै व्यवस्था मिलाएर पोलिक्लिनिकमा लगेर शारीरिक परीक्षण पनि गराइसकेका थिए।

‘काठमाडौंको होटलमा राख्ने, यहाँ किड्नी र स्वास्थ्य अवस्था परीक्षण गर्ने र किड्नी आवश्यक परेका मानिससँग मिल्दो भएमा उनीहरूलाई भारत लैजाने गरेको पाइयो,’ मल्लले भने।

सबै परीक्षण सकेपछि ती दुई पीडित पनि मिर्गौला दिन योग्य ठहरिसकेका थिए। उनीहरूलाई गत असार १५ गते भारतको कलकत्ता लैजाने तय भएको थियो। ती पीडित तयार भएपछि यताबाट भारतका तस्करलाई कोड भाषामा मिर्गौलालाई ‘गोला’ प्राप्त भयो भनेर जानकारी पनि दिइसकेको थियो।

यसरी भारत लैजान लागेको सूचना ब्यूरोले पनि पाएपछि अनुसन्‍धान अघि बढाएको प्रहरी उपरीक्षक मल्लले बताए।

सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले सुरूमा धुपेन्द्र, बिजय र बिमलबहादुरलाई पक्राउ गर्‍यो।

उनीहरूको बयानको आधारमा पछि बिधान र छोटेलाई असार २८ गते पक्राउ गरेको हो।

प्रहरीको अनुसन्धानबाट भारतमा गएर मिर्गौला बिमल र बिधानले बिक्री गर्थे।

उनीहरूले विशेषगरी सडकमा बस्ने तथा आर्थिक अवस्था कमजोर भएकालाई प्रलोभनमा पारेर मिर्गौला तस्करी गरिरहेका थिए।

यसरी नै भारतका विभिन्न सहरमा पुर्‍याएर दुई सयभन्दा बढी मिर्गौला तस्करी भइसकेको ब्यूरोले अनुमान छ।

त्यसरी उता लगेर प्रत्यारोपण गरिसकेपछि भने पैसा र मोबाइल दिएर पनि पठाउँथे।

‘यसको अपराध नै धेरै ठूलो छ। संगठित अपराध जस्तै उनीहरूको उता पनि कनेक्सन छ। सबै मिलाएर बेच्ने गरेका छन्,’ मल्लले भने,‘लामो समयदेखि बेचिरहेको खुलेको छ।’