गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता दिनुपर्छः बाबुराम भट्टराई

काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपाली (एनआरएन)लाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताएका छन् । आज शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

नेता भट्टराईले आमाको नामबाट नागरिकता दिने विषयमा सर्तहरू तेर्साइनु गलत भएको बताए । आमाको नाममा निःशर्त नागरिकता दिनुपर्ने उनको भनाइ छ ।

उनले भने ‘जन्मसिद्धका सन्तानले वंशीय नागरिकता पाउने कुरा त आएको छ । एनआरएनलाई पनि पूर्ण अधिकारसहितको नागरिकता दिनुपर्छ भन्ने मेरो मान्यता छ । तैपनि राजनीतिकबाहेकका अन्य अधिकारसहितका नागरिकता दिने कुरा छ, त्यो पनि सकारात्मक छ ।’

भट्टराईले वैवाहिक अङ्गीकृतको कुरा पनि समानतामा आधारित नभएको भन्दै लैङ्गिक पहिचानसहितमा भएको त्रुटि सच्याएर नागरिकता विधेयक पारित गर्नु राम्रो हुने धारणा राखे । नागरिकतासम्बन्धी विधेयक अपूर्ण रहेको उनको टिप्पणी छ ।