कस्तुरीको बिना भनेर बाख्राको छालामा पर्फ्युँम दलेको पुष्टि, लिम्बूलाई फसाउने योजना चकनाचुर

काठमाडौं । कस्तुरीको बिना प्रकरणमा पक्राउ परेका पाँचथरका शिव लिम्बु १२ दिनपछि सोमबार छुटेका छन । गत असार २३ गते काठमाडौंको चाबहिलबाट कस्तुरीको बिना लुकाई राखेको आरोपमा प्रहरीले लिम्बुलाई पक्राउ गरेको थियो ।

तर, लिम्बु निर्दोष देखिने सीसीटिभी फुटेज कार्यक्रम सिधा कुरा जनतासँगले सार्वजनिक गरेपछि यो विषयले प्रहरी प्रशासनमा तरंग पैदा गरेको थियो ।कार्यक्रम प्रशारण भएकै भोलिपल्ट काठमाडौं उपत्यका प्रहरी कार्यालयले घटनाका सम्बन्धमा छानविन समिति गठन गरेको थियो ।

छानविन समितिको निष्कर्षपछि जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंको साउन २ गते लिम्बु निर्दोष रहेको ठहर गर्दै मुद्दा नचलाउने निर्णय गरेको छ ।सोमबार डिभिजन वन कार्यलय काठमाडौंबाट छुट्दै गर्दा उनको परिवारमा आक्रोस सहितको खुशी झल्किन्थ्यो । निर्दोष भए पनि १२ दिनसम्म हिरासतमा बस्नु पर्दाको पीडा शिव र उनको रिहाइका लागि संघर्ष गरेकी उनकी पत्नी प्रतिमाले यसरी पोखे ।

त्यो दिनको भिडियो सीसीटीभीमा कैद नभएको भए गम्भीर कानुनी उल्झनमा फस्ने उनीहरुले आशंका व्यक्त गरेका छन् ।

प्रहरीको तदारुकताः फसाउन खोज्ने आफैं फसे कार्यक्रम सिधाकुरा जनतासँगको ८७१ औं श्रङ्खलामा निर्दोष फसेको देखिने सीसीटिभी फुटेज प्रशारण भएको थियो ।घटना पेचिलो र रहस्यमय देखिएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसपी दिलिप घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन ग-यो र ५ दिनमा शिव लिम्बुलाई निर्दोष फसेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा पाँचथरकै आदम भन्ने सुवाष राईले शिवलाई फसाएको जनाएको छ । सुवासको योजना मुताविक नै नारायण कार्की भन्ने कृष्ण श्रेष्ठले कस्तुरीको विना जस्तो देखिने वस्तु शिवको बाईकमा राखेको र प्रहरीलाई खबर गरेका थिए ।

यो तथ्य बाहिरिएसँगै शिव लिम्बु छुटेका छन् भने योजना बनाउने सुभाष फरा भएका छन् । सुवासको योजनाअनुसार शिवको मोटरसाइकलको सिटमुनी कस्तुरीको नक्कली बिना राख्ने कृष्ण श्रेष्ठ पक्राउ परेका छन् ।

शिव लिम्बुलाई प्रहरीले कस्तुरीको विना बिक्री वितरणमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । तर, राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परिक्षणमा शिवको मोटरसाइकलको सिटमुनी राखिएको वस्तु विना नभएर बाख्राको छालाभित्र पफर््यूम दलेर तयार पारिएको थियो ।