रुटिन अफ नेपाल बन्दलाई महानगरको एक करोड

काठमाडौं, असार ३० । काठमाडौं महानगपालिकाका बहुचर्चित मेयर बालेन्द्र साहलाई निर्वाचनमा अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने रुटिन अफ नेपाल बन्दलाई एक करोडको बजेट विनियोजन गरिएको छ ।

नगरपरिषद् बैठकले पारित गरी छपाइका क्रममा रहेको बजेट पुस्तिकाका अनुसार मेयर साहले आफ्नै निजी खर्चले बनाउने भनेको यमबुद्धको शालिकका लागि पनि महानगरकै १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

निर्वाचनमा प्रचार गर्ने ‘रुटिनअफ नेपालबन्द’का सञ्चालकले शुरू गरेको ई–स्पोटर्स प्रतियोगिता आयोजना गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको हो ।

महानगरपालिकाको बजेट तथा कार्यक्रमको मस्यौदाको ८ सय ८२ नम्बरको बुँदामा खेल आयोजना गर्न उक्त रकम विनियोजन भएको प्रमाण हेर्न सकिन्छ ।नेपालमा अनलाइनबाट खेलाइने खेलका लागि एक करोड रुपैयाँ विनियोजन गर्नु आश्चर्यको विषय बनेको छ ।

करिब ३५ लाख फलोअर्स रहेको रुटिन अफ नेपाल बन्दको नाममा खर्च गर्दा कार्यपालिकालाई जानकारी हुन सक्ने भन्दै मेयर साहले अनलाइन खेलको नाममा १ करोड रुपैयाँ विनियोजन गरेको कामपाका उच्च अधिकारीले बताएका छन् । उक्त रकम सामाजिक विकास विभाग र भवन, आवास र शहरी विकास उपक्षेत्र शीर्षकमा विनियोजन गरिएको छ ।

१ सय ८ पेज लामो पुस्तिकामा मेयर साहले नगरपरिषद् सदस्यलाई दबाब र प्रभावमा पारी आपूलाई निर्वाचनमा सहयोग गर्ने संस्थालाई विनियोजन गरेको महानगरका पुराना कर्मचारीहरूको गुनासो छ ।

कामपाले सो बजेट पुस्तिका सार्वजनिक गरेको छैन । निर्वाचनमा फेसबुक र ट्विटरका माध्यमबाट चुनाव प्रचार गरी विजयी गर्न सफल रुटिन अफ नेपाल बन्दलाई गुन तिर्न एक करोड रुपैयाँ विनियोजन गरेको कर्मचारीको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट